
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गौचनलाई गोली हान्ने सुटर राजीव लामा सहित अन्य पाँच जनालाई पक्राउ गरेको जनाएको हो ।
गत असोज २३ गते बानेश्वरमा व्यवसायी महासंघका अध्यक्ष गौचनमाथि गोली हानिएको थियो । अज्ञात समूहले चलाएको गोली लागेर गौचनको वानेश्वरको सिभिल अस्पतालमा मृत्यु भएको थियो ।
मंगलवार प्रहरीले गोली चलाउने सुटर लामाले गुन्डा समिरमानसिंह बस्नेतको निर्देशनमा व्यवसायी गौचनमाथि गोली हानेको प्रहरी अनुसन्धानमा देखिएको जनाइएको छ । यद्यपी गोली हान्न निर्देशनदिने बस्नेत भने फरार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले यसअघि हत्यामा प्रयोग गरिएको आशंकामा दुई वटा मोटरसाइकल बरामद गरेको थियो । जसमध्ये एउटा चोरीको मोटरसाइकल भएको प्रहरीको अनुसन्धान समितिले पत्ता लगाएको थियो । घटनाको छानबिनका लागि डिआइजी गणेश केसीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।