२८ कार्तिक २०७४, मंगलवार

निर्वाचन आयोगले यसपटक अति संवेदनशील निर्वाचन सामग्री चीनबाट आयात गरेको छ । अति संवेदनशील सूचीमा रहेका अधिकांश सामग्री यसअघि आयोगले भारतबाट ल्याउने गरेको थियो भने अन्य दाताबाट समेत सहयोग लिने गरेको थियो ।

समय अभाव भएको भन्दै अन्य दाता पन्छिएपछि आयोगले स्वस्तिक छापबाहेकका सबै सामान चीनबाट भित्रयाएको हो । स्वस्तिक छाप भने आयोगले भारतबाटै ल्याएको छ । मतपत्र, मतदाता नामावली, मतपेटिका, स्वस्तिक छाप, नउड्ने मसी, स्ट्याम्प प्याड र सुरक्षणलगायत सामग्रीलाई आयोगले अति संवेदनशील सूचीमा राखेको छ । यसअघि निर्वाचनमा सहयोग गरेका भारत, चीन, जाइका, यूएनडीपीलगायतले समय अभावका कारण सहयोग गर्न नसकेको आयोगले जनाएको छ ।

सहयोग गर्न चाहने देशले टेन्डर गरेर सामान पठाउन ६ महिना लाग्ने भएकाले सहयोग लिन नसकिएको आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले ६७ प्रकारका निर्वाचन सामग्री किन्न करिब चार अर्ब रूपैयाँ खर्च गर्दैछ । स्थानीय निर्वाचनमा प्रयोग नभएका कतिपय सामानसमेत आयोगले यसपटक प्रयोग गर्न लागेको ढकालले जानकारी दिनुभयो । स्थानीय निर्वाचनमा चार अर्ब रुपैयाँको सामग्री किनिएको थियो । यसअघि भारतबाट ल्याउने गरिएका अति संवेदनशील सामग्री यसपटक आयोगले चीनबाट आयात गरेको हो ।

 

LIVE TV