२७ कार्तिक २०७४, सोमबार

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई गोलाप्रथाद्वारा खटाइने भएको छ ।

विगतका निर्वाचनमा आफ्ना नजिकका कर्मचारीलाई मतदान अधिकृतमा खटाइँदा विवाद भएकाले कर्मचारी खटाउँदा निष्पक्षता कायम होस् भन्ने उद्देश्यले गोलाप्रथाद्वारा छनोट गरिन लागिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले जानकारी दिनुभयो ।

जिल्लाको १४४ मतदानस्थलमा दुई सय ८५ केन्द्र कायम गरिएको छ । त्यसमध्ये ३१ केन्द्र संवेदनशील मानिएको छ । एक केन्द्रमा एक मतदान अधिकृत र एक सहायक मतदान अधिकृतसहित आठ जना कर्मचारी खटाइने हुँदा कुल दुई हजार २८० जना कर्मचारी खटिने उहाँले बताउनुभयो ।

त्यसैगरी मतदान केन्द्रमा आवश्यकताअनुसारको म्यादी र नेपाल प्रहरी खटाइने छ । प्रहरी निरीक्षकको कमान्डमा तीन वटा घुम्ती टोलीसमेत व्यवस्था गरिएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिकाअनुसार पहिलो घेरामा म्यादी, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान केन्द्रका कर्मचारी रहनेछन् । त्यसैगरी दोस्रो र तेस्रो सरक्षा घेरामा क्रमशः सशस्त्र प्रहरी र नेपाली सेना खटाइनेछ ।

दुई वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं. एकमा एक महिलासहित विभिन्न पार्टीका १३ जनाले उम्मेदवारी दिएका छन् । त्यसमध्ये लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वसञ्चारमन्त्री अग्नि सापकोटाबीच कडा प्रतिष्पर्धा हुने भएको छ ।

त्यस्तै क्षेत्र नं १ को (क) मा पनि एक महिलासहित ११ उम्मेदवार चुनावी मैदानमा छन् भने (ख) मा आठ उम्मेदवार मैदानमा छन् ।

यसैगरी क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर जबरा र वाम गठबन्धनका शेरबहादुर तामाङबीच कडा प्रतिष्पर्धा हुने भएको छ । विसं २०२९ सालदेखि पञ्चायतकालमा लगातार चार पटक राष्ट्रिय पञ्चायत सदस्यमा विजयी भएका राणा २०४८, २०५१ र २०५६ सालमा लगातार तीन पटकसम्म सांसदमा जितेका थिए । २०६४ र २०७० को संविधानसभा सदस्य निर्वाचनमा उनी पराजित भएका थिए । उनीसँगै यस क्षेत्रबाट नौ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

क्षेत्र नं २ को (क) र (ख) मा १६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन क्षेत्र १ मा एक लाख १४ हजार ३४७ र क्षेत्र नं २ मा एक लाख १२ हजार १९३ गरी कुल दुई लाख २६ हजार ५४० मतदाता रहेको जिल्ला निवाचन कार्यालयले जनाएको छ ।

LIVE TV