
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आगामी प्रदेश र प्रतिनिधिसभा गठनका लागि आवश्यक तयारीमा जुटेको जनाएको छ । प्रदेशसभाको राजधानी र प्रदेशसभा रहने ठाउँकोे निर्णय सरकारले गरेसँगै काम शुरु गर्ने प्रधानमन्त्री कार्यलयले जनाएको हो ।
सामान्य प्रशासन मन्त्रालयले सामान्य प्रशासन मन्त्रीको अध्यक्षतामा गरिएको अध्ययनलाई आधार मान्दै सम्भाव्य प्रदेश राजधानीको लागि ठाउँहरुकोबारेमा छलफल गरिएको प्रधानमन्त्री कार्यलयको भनाई छ । संघीय मामिला तथा स्थानीय विकास, सामान्य प्रशासन मन्त्रालयको सहमतिमा प्रदेश राजधानी र प्रदेशसभा बस्ने ठाउँको लागि आवश्यक गृहकार्य भैसकेको र छिट्टै निर्णयका लागि मन्त्रिपरिषद्मा लैजाने तयारी गरिएको प्रधानमन्त्री कार्यलयका सचिव खगराज वरालले जानकारी दिनुभयो ।
संविधानको धारा १ सय ६३ मा राष्ट्रपतिले प्रत्येक प्रदेशका लागि एक एक जना प्रदेश प्रमुख नियुक्ति गर्ने व्यवस्था गरेको छ । निर्वाचित प्रदेश सभाले प्रदेश राजधानीको अन्तिम टुङगो लगाउने कानूनी व्यवस्था रहेकोले सरकारले तोक्ने प्रदेश राजधानीहरु अस्थायी रुपमा रहनेछन् ।