
काठमाडौं। निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि मंसिर १० र २१ गते हुने निर्वाचनका लागि मतदाता परिचयपत्र वितरण गर्ने मिति तय गरेको छ ।
आयोगले यस अघि तीन दिनसम्म मतदाता परिचयपत्र वितरण गर्दै आएकोमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भने निर्वाचन भन्दा दुई दिन अघि परिचयपत्र वितरण गर्ने मिति तय गरेको हो ।
आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा कर्मचारीहरु परिचालन गरिसकेको जनाउँदै मंसिर १० गतेको निर्वाचनपूर्व मंसिर ८ र ९ गते मतदाता परिचयपत्र वितरण गर्ने जनाएको हो । त्यसैगरि आयोगले दोश्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा समेत मंसिर १९ गतेदेखि मतदाता परिचयपत्र वितरण गर्ने जनाएको छ ।
आयोगले भदौ ३ गतेसम्म मतदाता नामावली दर्ता गरि भदौ ५ गतेसम्म १८ वर्ष पुरा गरेकाहरुको नामावली सार्न, सच्याउन निवेदन दिएका मतदाताहरुको परिचयपत्र वितरण हुने समेत जनाएको छ ।
स्थानीय तह निर्वाचनमा नै मतदाता परिचयपत्र वितरण गरिएको भन्दै अद्यावधिक गरिएकाहरुलाई मात्र मतदाता परिचयपत्र वितरण गर्ने भन्दै २ दिनको समय तोकिएको जनाएको छ । त्यसैगरि आयोगले मतदाता परिचयपत्र लिन आउने मतदाताहरुलाई कार्यालयमा नै मतदाता शिक्षा समेत दिइने जनाएको छ ।