२७ कार्तिक २०७४, सोमबार

प्रधानन्यायाधीश गोपाल पराजुलीले मुद्दा व्यवस्थापनलगायत विषयमा आज वरिष्ठ अधिवक्तासँग सुझाव लिनुभएको छ ।  प्रधानन्यायाधीश पराजुलीले पेशी व्यवस्थापन, अतिरिक्त समय थप काम गर्ने लगायत पीडितलाई छिटो न्याय दिन बिहान ९ः३० बजेदेखि इजलास राख्ने विषयमा सर्वाेच्च अदालतमा वरिष्ठ अधिवक्तासँग सुझाव माग्नुभएको थियो । वरिष्ठ अधिवक्ताहरुले बिहान ९ः३० मा इजलास शुरु गर्ने कुरा त्यति वैज्ञानिक नभएको हुँदा शुरुमा १०ः३० देखि शुरु गर्दा उपयुक्त हुने विषयमा सुझाव दिनुभएको थियो ।

छलफलपछि वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीले बिहान ११ बजेदेखि शुरु हुने इजालास एकैपटक ९ः३० शुरु गर्दा त्यति वैज्ञानिक नहुने हँुदा शुरुमा १०ः३० बजेदेखि शुरु गर्दा उपयुक्त हुने सुझाव दिएको बताउनुभयो । छलफलमा वरिष्ठ अधिवक्ताले मुद्दालाई छिटो टुङ्ग्याउन पुरानो मुद्दालाई बढी प्राथमिकता दिनुपर्ने, मुद्दाको प्रकृतिअनुसार ढिलो न्याय हुँदा काम नलाग्ने हुँदा समयानुकूल मुद्दाको किनारा छिटो लगाउनुपर्ने सुझाव दिनुभएको थियो ।

छलफलमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा र दीपककुमार कार्की तथा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सर्वज्ञरत्न तुलाधर, लक्ष्मीबहादुर निराला, महादेवप्रसाद यादव, विश्वकान्त मैनाली, यज्ञमूर्ति बञ्जाडे, हरिहर दाहाल, शम्भु थापा, बद्रीबहादुर कार्की, रामप्रसाद श्रेष्ठसहित ६० जनाभन्दा बढीको सहभागिता थियो ।

LIVE TV