
मतदाता शिक्षालाई प्रभावकारी बनाउन यहाँका पत्रकारहरुले आज नमूना मतदान गरेका छन् । जिल्ला समन्वय समितिको कार्यालय परिसरमा सर्वसाधारणले हेर्न मिल्ने गरी पत्रकारहरुले मतदान गरेका हुन् ।
जिल्ला निर्वाचन कार्यालय चितवनको सहयोगमा नेपाल पत्रकार महासंघ चितवन शाखाले यहाँ आयोजना गरेको निर्वाचन र सञ्चार विषयको एक प्रशिक्षण कार्यक्रमका क्रममा नमूना मतदान गरिएको हो ।
प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक तर्फबाट गरी तीन वटै मतपत्रमा मतदान गर्ने व्यवस्था गरिएको थियो । विभिन्न चुनाव चिन्ह लिएर पत्रकारहरु उम्मेदवार बनेका थिए भने पत्रकारहरु नै निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र अन्य कर्मचारीको भूमिकामा रहेका थिए । सहभागी बाँकी पत्रकारले मतदान गरेका थिए ।
फरक फरक तीन ठाउँमा मतगणना गरी मतपरिणाम समेत सार्वजनिक गरिएको थियो । निर्वाचन अधिकृत बन्नुभएका पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले मतपरिणाम सार्वजनिक गरी नमूना मतदान प्रक्रियाको समापन गर्नुभएको थियो ।
सोही अवसरमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राधेश्याम खतिवडाले पत्रकारले प्रक्रिया बुझेपछि आम सर्वसाधारणलाई बुझाउन सहज हुने बताउनुभयो । सोही अवसरमा जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले मतदाता शिक्षालाई प्रभावकारी बनाउन यस्ता कार्यक्रम फलदायी हुने बताउनुभयो ।
सोही क्रममा भएको निर्वाचन र सञ्चार प्रशिक्षण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्मा र प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट निर्वाचन तयारीका विषयमा हालसम्म भएका प्रगतिका बारेमा जानकारी गराउनु भएको थियो ।
सोही अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले सुरक्षा रणनीति र चितवन क्षेत्र नं ३ का निर्वाचन अधिकृत शम्भुराज रेग्मीले निर्वाचन आचारसंहिताका विषयमा प्रकाश पार्नुभएको थियो ।