२७ कार्तिक २०७४, सोमबार

काठमाडौं । २० महिनापछि नेपाली राष्ट्रिय फुटबल टिममा प्रतिभाशाली मिडफिल्डर जगजित श्रेष्ठ फर्किएका छन् । जगजित पछिल्लो पटक ०७२ फागुनमा भारतमा आयोजना भएको १२औं दक्षिण एसियाली खेलकुद (साग)को यू–२३ टिममा थिए।

सागपछि अस्ट्रेलिया गएका जगजित मंगलबार हुने फिलिपिन्स विरुद्धको खेलका लागि घोषणा गरिएको राष्ट्रिय टिममा समावेश भएका हुन् । अस्ट्रेलिया गएपछि उनी राष्ट्रिय टिमको पहिलो चरणको टिममा समेत परेका थिएनन्।

नेपाली टिमका प्रशिक्षक ग्योतोकु कोजीले फिलिपिन्स विरुद्धको पहिलो चरणको टिम अभ्यासका लागि जगजितलाई अस्ट्रेलियाबाट बोलाएका थिए । अभ्यासका क्रममा प्रशिक्षक कोजीलाई प्रभावित पार्दै जगजितले २० महिनापछि राष्ट्रिय टिममा स्थान बनाएका हुन्।

राष्ट्रिय टिममा पुनरागमनपछि संक्षिप्त प्रतिक्रिया दिँदै जगजितले खुसी लागेको बताए। ‘राष्ट्रिय टिमबाट खेल्ने सबैको चाहना हुन्छ। फेरि टिममा खुसी लागेको छु’ उनले भने ।

LIVE TV