
काठमाडौं, नेपाल सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग गरेको सम्झौता खारेज गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको यसअघिको निर्णय बदर गरेको हो।यसअघि संसदको अर्थ र कृषि तथा जलस्रोत समितिले बुढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएका थिए।
गएको जेठ ९ गतेको मन्त्रिपरिषद बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चाइनाको गेजुवा कम्पनीलाई दिने निर्णय गरेको थियो। यसका लागि तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले भूमिका खेलेका थिए।अनियमित र हचुवा ढंगले सम्झौता भएको भन्दै संसदीय समितिको निर्देशन बमोजिम खारेज गरिएको मन्त्रालयले जनाएको हो ।
गेजुवालाई जिम्मेवारी दिनुअघि आयोजना ६ सय मेगावाट क्षमतामा सरकारले निर्माण गर्ने तयारी गरेको थियो। विस्तृत इन्जिनियरिङ अध्ययनका क्रममा क्षमता बढाएर सरकारले १२ सय मेगावाट बनाउन लागेको थियो।