२७ कार्तिक २०७४, सोमबार

हरिकृष्ण

आमाबाबुको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुंगामुढामाथि भन्ने नेपाली उखान धेरै हदसम्म चरितार्थ भएको छ । उर्जावान समय छोराछोरीका लागि समर्पित बाबुआमा बृद्धाश्रमको बासमा पुग्नुपरेपछिको पीडा कम्ति हुँदैन । यतिवेला मुलुककै निर्वाचनमय भएको छ । तर, छोराछोरीबाट टाढा बस्न बाध्य म्याग्दीका यी वृद्ध बाबुआमालाई निर्वाचनको रौनकले छोएको छैन नत निर्वाचनप्रति विश्वास नै छ ।

बृद्धावस्थामा आफ्नो साथ छाड्ने छोराछोरी भन्दा राजनीतिक दलका नेताहरु फरक छैनन् भन्दै आफ्नो पीडा पोख्छन्, म्याग्दीस्थित बेनी नगरपालिका वडा नम्बर ९ गलेश्वर बृद्धाश्रमका बाबुआमा । यीनी हुन् पर्वत जिल्ला कटुवा चौपारीकी ओमकुमारी लामिछाने । विगत दुईबर्षदेखि गलेश्वरको बृद्धआश्रममा बस्छिन् । दोस्रो संविधानसभाको निर्वाचनमा भाग लिएकी लामिछाने आफ्ना सन्तानबाट टाढिनु परेपछि विरक्त बनेकी छन् । र, भन्छिन् निर्वाचनमा भाग लिएर के गर्नु ?

कैलालीकी कलावती शर्मालाई पनि निर्वाचनको खासै चासो छैन । गलेश्वर र मुक्तिनाथ मन्दिरको दर्शनका लागि छोराबुहारीसँगै आएकी शर्मा अहिले आश्रमको शरणमा छिन् । आफू र आफ्ना पतिलाई छोराबुहारीले छाडेर गएको पीडा उनको गहभरीको आँशुले प्रष्ट पार्छ । आश्रममै पति गुमाएपछि जीवन एक्लो जीवनको पीडा भोग्न बाध्य कलावतीलाई निर्वाचनप्रति कुनै उत्साह छैन । उनी जस्तै अन्य बृद्धबृद्धाको पीडा फरक छैन । अनि उनीहरु भन्छन्, आफ्ना छोराछोरी र नेताहरुमा कुनै भिन्नता छैनन् । दुःख गरेर पालनपोषण गरेका आफ्ना सन्तानले छाडे झैं नेताहरुले पनि निर्वाचनका बेला मत माग्ने अनि भुसुक्कै विर्सने गरेको बताउँछन् ।

यद्धपि उनीहरु परिचयपत्रको ब्यवस्था, निशुल्क स्वास्थ्य र यातायातको सुविधा मिलाइदिन आग्रह गर्छन । गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष एवम् पन्डित भिमनाथ पराजुलीले बृद्धबृद्धालाई मन्त्रालयबाट दिइएको परिचयपत्रलाई यातायात ब्यवसायीले फालिदिने गरेको गुनासो सुनाए ।

आफ्नै सन्तानबाट टाढिएका बृद्धबृद्धाको पीडा कहिले सम्बोधन होला ? उनीहरु प्रश्न गर्छन् । सधैं आश्वासनको पोका बाँड्दै हिड्ने नेताहरुलाई सोध्छन् समस्या समाधान हुँदैन भने किन आश्वासन बाँड्छौं ?

 

 

 

 

 

LIVE TV