
राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुषालको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
प्राधिकरणका पूर्व सिइओ सुशील ज्ञवालीले भुषालको नियुक्ति गैरकानुनी भएको दाबी गर्दै खारेजीको आदेशका लागि सर्वोच्चमा रिट दायर गरेका हुन् । गोविन्द पोखरेलको राजीनामा स्वीकृत गरि बाँकी अवधिका लागि युवराज भुषाललाई नियुक्ति गर्नु कानुनसम्मत नभएकाले नियुक्ति बदर गर्न रिटमा माग गरिएको छ । प्राधिकरणका पूर्व सिइओ पोखरेलले प्रतिनिधिसभा निर्वाचनमा प्यूठानबाट उम्मेदवार हुन राजीनामा दिएपछि मन्त्रिपरिषद्ले गत कात्तिक ६ गते उनको राजीनामा स्वीकृत गर्दै पूर्व अर्थसचिव युवराज भुषाललाई सिइओ नियुक्त गरेको थियो ।
उनी नियुक्त भएको २० दिनपछि नियुक्ति खारेज गर्न रिट परेको हो । पूर्व सिइओ ज्ञवालीले यसअघि पनि सर्वोच्चमा रिट हालेका थिए । मन्त्रिपरिषद्को २०७२ पुस १० गतेको निर्णयबाट पाँच वर्षको पदावधि हुनेगरि प्राधिकरणमा आफूलाई नियुक्त गरे पनि त्यसको एक वर्षमै गैरकानुनी रुपमा हटाएर पोखरेललाई सिइओ नियुक्त गरिएको भन्दै उनले २०७३ माघ ४ गते रिट हालेका थिए जुन मुद्दा हालसम्म विचाराधीन छ ।