२६ कार्तिक २०७४, आईतवार
  • गोविन्द कुँवर

अछाम। अछाम मंगलसेन नगरपालिकामा बस्ने मंगलसेनवासीहरुको दिनचर्या नै गिट्टी कुट्नमै सीमित छ । बिहान उठेदेखि साँझ आँखाले देखुन्जेल त्यहि गिट्टी कुटेर जीविकोपार्जन गर्दै आइरहेका मंगलसेनका स्थानीयवासीहरुलाइ्र्र अहिले आएर चिन्ताले सताउन थालेको छ । पछिल्लो समय नगरपालिकाले सडक छेउछाउको ढुंगा ननिकाल्न सूचना जारी गरेपछि घर गृहस्थ धान्ने पेशा नै बन्द हुने अवस्था आएपछि गुजारा चलाउन मुस्किल बनेको उनीहरुको गुनासो छ ।

यिनी हुन् अछाम मंगलसेन नगरपालिकाकी मडी दमाई । उमेरले ५० वर्ष पुगिन् । दुई बर्ष अघि श्रीमानको मृत्यु पश्चात उनी एक्लै छिन् र उनको जीवन सडक छेउको गिट्टीसंगै उठबस गर्छ । आर्थिक अवस्था कमजोर भएकाले मडीलाई जीवन गुजारा चलाउन गाह्रो भएपछि गिट्टीको साहारा लिएर आफनो गृहस्थी धान्दै आएकी छिन् । तर अहिले नगरपालिकाले सडक छेउमा गिट्टी निकासी बन्द गर्ने निर्णय गरेसंगै अहिले गिट्टीबाट गुजारा गर्ने मडी जस्तै अरुलाई पनि जीवन गुजारा गर्नै मुस्किल पर्ने चिन्ताले सताएको छ ।

दिनभरी गिट्टी कुटेर दुई छोरा र दुई छोरीको पढाई खर्च र घर खर्च धानीरहेकी मडीले महिनाको ३ हजारसम्म कमाउछन् र त्यो कमाएको पैसा छोराछोरीको पढाई खर्च र विहान बेलुकाको छाक टार्नै मुस्किल हुने मडी दमाईको भनाई छ ।

गिट्टी कुट्नका लागि मध्य पहाडी लोक मार्गको तलमाथिको नै ढुंगा बटुल्ने गर्ने गरिएको छ । तर, सडक छेउको ढुंगा निकाल्दा सडकमा पहिरो झर्ने र सडक नै अवरोध हुने भन्दै नगरपालिकाले सडक छेउछाउको ढुंगा ननिकाल्न सुचना जारी गरेर ढुंगा निकाल्ने काम बन्द गरेको नगरपालिका प्रमुख पदम बोहोराको भनाई छ ।

सडक छेउमा गिट्टी कुटेर जीवन धानिरहेको स्थानीयलाई अब नगरपालिकाले गिट्टी कुट्न नदिने भनेपछि उनीहरु कसरी जीवन गुजारा गर्ने भन्ने चिन्तामा परेका छन् । जीवन गुजारा नै छुट्ने भएपछि उनीहरुको गुजारा खोस्ने नगरपालिकाले नै विकल्प खोजिदिन आवश्यक छ । ०००

LIVE TV