२६ कार्तिक २०७४, आईतवार
  • राजु पौडेल

झापा। झापाको कचनकवललाई सरकारले धान सुपरजोन क्षेत्र घोषणा गरेपनि किसानलाई भने बजारकै समस्या छ । सरकारले सुपरजोन क्षेत्र घोषणा गरेर उत्पादन वृद्धि र बजारीकरण गर्ने लक्ष्य लिएपनि उत्पादन भएको धानले मूल्य नपाउदा किसान चिन्तित बनेका छन् ।

दश बर्षे परियोजना अन्र्तगत सुरु भएको सुपरजोन अन्र्तगतको कार्यक्रमले किसानलाई नयाँ प्रविधिमा आधारित खेतीप्रणालीसँगै धान उत्पादनमा वृद्धिदेखि बजारीकरणसम्मका सेवा, सुविधा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

मुख्यतः उत्पादन बढाउनैका लागि शुरु भएको परियोजना धानको ‘सुपरजोन’ घोषणा भएका क्षेत्रका किसानहरुले अहिले पनि उत्पादन गरेको धान बेच्न व्यापारीकै भाउमा सीमित हुन परेको छ । भण्डारणको समस्याले उत्पादन भएको धानले उचित मूल्य नपाउदा किसान मारमा परेका हुन् ।

सरकारले उत्पादित धानको उचित मुल्य निर्धारण नगर्दा र भण्डारणको व्यवस्था नहुँदा ‘सुपरजोन’ घोषित कचनकवल गाउँपालिका अन्र्तगतका साविक केचना, पृथ्वीनगर, बनियानी, पाठामारी, बालुबाडी र पथरीया क्षेत्रका किशानहरुमा नैराश्यता छाएको छ ।.

हाल करिब १२ सय हेक्टर क्षेत्रफल रहेको धान सुपर जोन क्षेत्रमा उत्पादन हुने धानको बजार मूल्य र भण्डारणको उचित व्यस्थापन हुन सकेको छैन । यो वर्ष प्रतिहेक्टर ४.८ मेट्रिक टन धान उत्पादन हुने लक्ष्य सुपरजोन कार्यालयले लिएपनि बजारीकरणको अभाव अझै पनि यथावत् रहेको छ ।

परियोजनाले भने कृषकका लागि भन्दै सुपरजोनको अनुदानमा साना किसान कृषिसहकारीको स्वामित्वमा २ सय टन भण्डारण क्षमता भएका दुईवटा पोष्ट हार्भेष्ट सेन्टरको निर्माण भएको जनाएको छ । कृषकमा सुपरजोनको बारेमा चेतना नहुनु र सुपरजोनले भनेजस्तो आधुनिकता नअपनाईनुले सोचेजति प्रभावकारी बनाउन नसेको प्रधानमन्त्री कृषि औद्योगिक क्षेत्र धान सुपरजोनका कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिम्सिनाले बताउनुभयो ।

परियोजनाले कृषकलाई कृषि समुह तथा सहकारी मार्फत अनुदानमा कृषि यन्त्रहरु उपलब्ध गराउदै आएको छ । परियाजनामा आबद्ध २३ वटा कृषि समुह तथा सहकारीहरुका किसानले मात्र हालसम्म सेवा, सुविधा लिएको बताइएको छ ।

LIVE TV