२६ कार्तिक २०७४, आईतवार
  • छविलाल बगाले

काठमाडौँ । आगामी दुई बर्षभित्रमा १ सय १६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी लमजुङको दोर्दी खोलामा जलविद्युत आयोजनाको निर्माण भइरहेको छ । ४ फरक प्रवद्र्धकहरुले १९ अर्व लगानीका आयोजनाहरु दोर्दी करीडोरमा शुरु गरेका हुन् ।

एउटै खोलामा ४ जलविद्युत आयोजनाका प्रवद्र्धकहरुले आगामी २ बर्षभित्रै विद्युत उत्पादनको लक्ष्य राखी निर्माण अघि बढाइरहेका छन् । भुकम्प र नाकाबन्दीको मार समेत खेपेका यी आयोजनाहरुले तिब्र गतिमा निर्माणलाई अघि बढाइरहेका छन् । तिब्र गतिमा बग्ने दोर्दी खोलामा पाइपलाइनमा निर्माणाधिन रहेका आयोजनाहरुमा ५४ मेगावाटको सुपर दोर्दी–ख, २५ मेगावाटको दोर्दी–ए, २७ मेगावाटको दोर्दी र १२.५ मेगावाटको दोर्दी–१ रहेका छन् ।

दोर्दी खोलाको सबैभन्दा माथि प्रवद्र्धक कम्पनी पिपुल्स हाइड्रोपावर कम्पनीले ५४ मेगावाट क्षमताको सुपर दोर्दीको निर्माणलाई तिब्र गतिमा अघि बढाएको छ । प्रवद्र्धक कम्पनी पिपुल्सका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले २० प्रतिशत निर्माण सकिएको बताए । आयोजनाको झण्डै ५ किलोमिटर सुरुङमध्ये ५ सय ९२ मिटर सकिएको छ ।

यस्तै, आयोजनाले विद्युतगृह रहने स्थान ताँजे गाउँको फेदीमा रहेको लोदो र दोर्दी खोलाको दोभानमा (याक्साभेसन) खन्ने काम थालेको छ भने बाँध क्षेत्रको पनि २० प्रतिशत काम सकिएको छ । आयोजनास्थल ताँजेसम्मको ३२ किलोमिटर सडक निर्माण पनि प्रवद्र्धक कम्पनी पिपुल्सले गरेको छ ।

आयोजनाबाट २०७६ सालको असोज २० गतेभित्रै विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ । कुल ८ अर्ब ७३ करोड अनुमानित लागत रहेको यो आयोजनामा जिल्लाबासीले मात्रै २७ करोड रकम लगानी गरेका छन् । जुन बजेटमध्ये ५ करोड २ लाख प्रभावित क्षेत्रहरु ढोडेनी, फलेनी र बन्सारका स्थानियले लगानी गरेका छन् ।

सुपर दोर्दी–ख बाट विद्युत उत्पादन गरी निस्किएको पानीलाई प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जीले २५ मेगावाट विद्युत उत्पादन गर्ने गरी आयोजना निर्माणलाई तिब्रता दिइरहेको छ । यसैबर्ष विद्युत उत्पादनको लक्ष्य लिएको लिवर्टीले ५० प्रतिशत आयोजना निर्माणको कार्य सम्पन्न गरिसकेको दोर्दी–ए का संचालक राजेन्द्र वस्तीले जानकारी दिनुभयो । उहाँका अनुसार कुल दुईहजार ६ सय ५० मिटर सुरुङमध्ये एकहजार ९ सय मिटर सुरुङ निर्माण सकिएको छ । आयोजनाको तीनहजार २ सय मिटर क्षेत्रमा रहने पेनस्टक निर्माणको कार्य पनि ९५ प्रतिशत सकिएको छ । आयोजनाले बर्षात याममा पहिले नै बाँध, बालुवा थिग्रयाउने पोखरी लगायतका संरचनाको काम गरिरहेको छ ।

साविकको ढोडेनी–७ तल्लो सिमिस्थित लोदो खोलाको दोभानमा आयोजनाको बाँध बाँधी झण्डै ५ किलोमिटर तल ढोडेनी–४ मालेबगरमा निर्माण गरिने विद्युतगृहमा लगेर पानी खसाल्ने आयोजनाको लक्ष्य रहेको छ । कुल ४ अर्ब रुपैयाँको लागतमा निर्माण गरिन लागेको यस आयोजनामा नौ बैंकले आयोजनामा २ अर्ब ७७ करोड ४० लाख रुपैयाँ लगानी गरेका छन् । यो आयोजना ०७५ कार्तिकमा सकिने बताइएको छ ।

लमजुङमा २५ सय मेगावाट भन्दा बढि क्षमताका जलबिद्युत उत्पादन गर्न सकिने लमजुङ मोडेल हाइड्रो कम्पनी इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष भेषबहादुर पौडेलले बताउनु भयो ।

यस्तै सोही करीडोरमा १२ दशमलव ५ मेगावाटको दोर्दी–१ बनाउनको लागि लमजुङ विद्युत विकास कम्पनी (लेड्को) को सहायक कम्पनी दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आवास तथा अन्य पूर्बाधारको काम शुरु गरेको छ । दोर्दी–१ ले २०७६ साउनमा ब्यापारिक रुपमा विद्युत उत्पादन थाल्ने गरी आयोजना निर्माण थालेको हो ।

आयोजनास्थल पूर्बी लमजुङको ढोडेनी, फलेनी र वन्सार गाउँमा पर्दछ । यो आयोजना पानीको बहावमा आधारित आयोजना हो । दोर्दी खोलाको पानीलाई साविकको ढोडेनी–४ मा निर्माण गरिने बाँधबाट २ हजार ५ सय मिटर लामो भुमिगत सुरुङ र ६ सय मिटर लामो पेनस्टक पाइपमार्फत ल्याइएको पानीलाई आयोजनाको विद्युत गृह रहने स्थान ढोडेनी–३ मा निर्माण गरिने विद्युत गृहमा खसाली विद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य छ ।

कुल १ अर्ब ८६ करोड अनुमानित लागत रहेको यस आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्नको लागि आवश्यक कार्यहरु अगाडि बढाइएको छ ।

उता, तीन बर्ष अघिदेखि निर्माणाधिन २७ मेगावाटको दोर्दी खोलाको पनि ५५ प्रतिशत निर्माण सकिएको प्रवद्र्धक कम्पनी हिमालयन पावर पार्टनर लिमिटेडले जनाएको छ । आयोजनाका अनुसार अहिलेसम्म दुईहजार ७ सय मिटर सुरुङमध्ये नौ सय मिटर सकिएको जनाएको छ । जुन ३३ प्रतिशत मात्रै काम हो ।

आयोजनाको सिभिल वर्कतर्फ ४७ प्रतिशत काम भएको र इलेक्ट्रोमेकानिकल अन्तर्गतको काम शुरु गर्ने तयारीमा रहेको आयोजनाका कार्यकारी निर्देशक एवं संचालक गुरुप्रसाद ढकालले जानकारी दिनुभयो आयोजनाको बाँध क्षेत्रमा पनि तिब्र गतिमा काम अघि बढिरहेको आयोजनाले जनाएको छ ।

आयोजनाले बाँध, बालुवा थिग्रयाउने पोखरी लगायतका संरचनाहरु निर्माण गरिरहेको छ । बाँध क्षेत्रको मात्रै ७० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । बन्द हडतालजस्ता गतिविधी नभए आगामी डेढबर्षमा आयोजनाबाट विद्युत उत्पादन हुनेछ ।

कुल ४ अर्ब २३ करोड ३५ लाखको लगानीमा निर्माण थालिएको हो । प्रवद्र्धक कम्पनी हिमालयन पावर पार्टनर कम्पनीको स्वामित्वमा रहेको ‘दोर्दी खोला जलविद्युत आयोजनामा आईएमई समूह, गैरआवासिय नेपाली संघ एनआरएनए र स्थानियबासीको शेयर लगानी रहेको छ ।

प्रबद्र्धक कम्पनी हिमालयनले २०७४ मंसिरबाट व्यवसायिक रुपमा विद्युत उत्पादन थाल्ने लक्ष्य लिएपनि नाकाबन्दी र भुकम्पका कारण आयोजना निर्माण डेढ बर्षपछि धकेलिएको हो । रन अफ द रिभर प्रणालीको यो आयोजनामा साविकको ढोडेनी गाविसस्थित बन्सार नजिकै बाँध बाँधेर २ दशमलव ६७ किलोमिटर लामो पेनस्टक र २ दशमलव ७ किलोमिटर भुमिगत सुरुङमार्फत ल्याइएको पानीलाई साविकको चिति–७ रामचोक बेशीस्थित मस्र्याङ्दी नदी किनारमा निर्माण गरिएको विद्युत गृहमा खसालिने आयोजनाको लक्ष्य छ ।

कछुवा गतिमा बेसीशहर–चामे सडकको स्तरोन्नती

आङै सिरिङ्ग हुने अग्ला अग्ला पहाड फोरेर हिमालपारीको जिल्ला मनाङमा मोटर पु¥याइएको छ । जुन हेर्दैमा कहाली लागेर आउँछ । त्यसमाथि पनि ठाउँठाउँमा भत्किएको निकै जोखिमपूर्ण बाटो पार गर्दै दैनिक थुप्रै संख्यामा सवारी साधनहरु आन्तरिक तथा बाह्य पर्यटकहरु बोकेर मनाङसम्म पुग्ने गर्दछन् ।

विश्वविख्यात अन्नपूर्ण पदयात्रामा पर्ने मनाङमा हजारौं पर्यटक यही सडक हुँदै ओहोरदोहोर गरिरहन्छन् । पर्यटनमा चर्चित त्यही बाटोको यात्रा भने ‘भगवान् भरोसा’ मा गर्नुपरेको छ । मनाङ जाने यात्रुहरु भगवानकै नाम जपेर पुग्ने गर्दछन् ।

सडकको अवस्था देख्दा निकै डर लाग्दो छ । पर्यटकिय संभावनाको खानी नै खानी मानिएको स्वर्गसरी मनाङ पुग्ने यो सडक कुनै यमराजको मुखमा पुगेजस्तै भान हुन्छ, यात्रुहरुलाई । मनाङको यात्रामा निस्किएकाहरु गन्तब्यसम्म नपुगेसम्म पुगिने हो की होइन भन्नेमै दोधार भइरहन्छन् । तर भाग्य नै भन्नुपर्छ की बेसीशहर–चामे सडक खण्डमा कुनै अप्रिय घटना भने घट्न पाएको पनि छैन् ।

जिल्ला सदरमुकाम चामेलाई सडक सञ्जालले जोड्ने सरकारको योजना अनुरूप २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौलीले सडक निर्माण सुरु गर्न थाले पनि सशस्त्र युद्ध र अन्य कारणले सडकको निर्माण गर्ने जिम्मा तत्कालिन नेपाली सेनाले पाएको थियो ।

२०५७ सालदेखि सडक निर्माण गर्ने जिम्मा पाएको नेपाली सेनाले पनि शान्तिप्रक्रिया शुरु भएपछि मात्र मनाङ जोड्ने बेसीसहर–चामे सडक निर्माण कार्यलाई निरन्तरता दिन सक्यो । विभिन्न बाधा व्यवधान खेपेर नेपाली सेनाले रात दिन गरेर मनाङको सदरमुकाम चामेसम्मको कुल ६५ किलोमिटरको ट्रयाक खोल्न सफल भयो । जसका कारण कडा भिर फोरेर मनाङमा सडकको पहुँच पुग्छ भनेर सोच्दै नसोचेका मनाङी जनताहरुले १८ बर्षपछि मोटरमा चढेर आवतजावत गर्न पाएका छन् ।

तर राज्यले सडकको स्तरोन्नतिमा जाँगर नलगाएको प्रति भने मनाङका जनताहरु निकै चिन्तित बनेका छन् । सडक डिभिजन कार्यालयको जिम्मामा परेको उक्त सडकमा क्रमागत रूपमा रकम विनियोजन भइरहेको छ ।

मनाङ सडक सञ्जालमा जोडिएको पनि ५ बर्ष वितिसकेको छ । सेनाले बाँदर लड्ने भिरलाई फोरेर विगत ३ बर्षअघि मात्रै ६५ किलोमिटर बेसीशहर–चामे सडकको जिम्मा सडक विभागलाई ‘हयान्ड ओभर’ ग¥यो तर त्यसपछि सडक स्तरिकरणमा विभागले झारा तिर्ने काममात्रै गर्दै आएको छ ।

सडकको स्थिती निकै दयनिय भएपनि यातायात ब्यवसायीहरुले मनाङ सदरमुकाम चामेसम्म दैनिक यातायात सेवा संचालन गरिरहेका छन् । तर सडक विभागले अघिल्लो आर्थिक बर्षमा सडक मर्मतका लागि छुटयाएको रकम समेत फ्रिज गराएर मनाङी जनतामाथि घात गरेको छ । बेसीशहर–चामे सडक खण्डका विभिन्न स्थानमा खाल्डाहरु परेका छन् । त्यही खाल्डा माथि माथि यातायातका साधनहरु चलिरहेका छन् तर मर्मतमा भने चासो नदेखाइएको स्थानियबासीहरुले गुनासो समेत गरेका छन् ।

मनाङका बासिन्दाले पाएको दुख देखेर पूर्ब श्रम तथा रोजगार राज्यमन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङले तीन पटकसम्म सडक डिभिजन कार्यालय दमौलीका इन्जिनियर, प्राविधिक, मनाङका प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी, प्रहरी प्रमुख, मनाङका स्थानिय जनतालाई बोलाएर सडक निर्माणमा सबैले सहयोग पु¥याउनुपर्ने भन्दै नेतृत्व समेत लिदै आएका छन् । उनले जसरी भएपनि मनाङी जनतामा खुसीयाली देख्न पाउनुपर्छ भन्दै सरोकारवाला निकायसँग अनुरोध गरिरहेका छन् ।

यसै आर्थिक बर्षमा काम सक्ने गरी बेसीशहर–चामे सडक खण्डको स्तरीकरणको लागि ३० करोड बजेट विनियोजन भएको छ । भने गत आवमा ७ करोड बजेट विनियोजन गरिएको थियो । यसअघिका बर्षहरुमा मनाङ सडकको मर्मत तथा स्तरिकरणका लागि आएको बजेट काम गर्न नसकिएको भन्दै फ्रिज गराइएको थियो ।

सडक विभागले आर्थिक बर्ष २०५१÷०५२ मा वेसी शहर–चामे सडक निर्माण थालेकोमा सडकलाई मुलुकमा विषम परिस्थिति सिर्जना भएपछि २०५७÷०५८ मा तत्कालीन शाही नेपाली सेनालाई जिम्मा लगाएको थियो । सेनाले आर्थिक बर्ष २०५८÷०५९ बाट सडकको निर्माण शुरु गरेको थियो ।

सडक विभागले प्रारम्भिक सर्भे गर्दा सडक निर्माणका लागि १ अर्व ३७ करोड रुपैयाँ लाग्ने अनुमान गरेपनि सेनाले त्यो भन्दा आधा रकम ७६ करोड ६६ लाखमा सडकको ट्रयाक खोल्ने काम पुरा गरिदिएको थियो । नेपाली सेनाको सामूहिक एकताका कारण निकै दुःख–कष्टका बाबजुत पनि वेसीशहर–चामे सडकको ट्रयाक खोल्न सफल भएको थियो ।

LIVE TV