
- हरिश क्षेत्री र अंगराज न्यौपाने र प्रियालक्ष्मी कार्की
काठमाडौं । सधैको आइतबार उदास हुदैनन । यही पुष्टि गरेको छ नेपाली क्रिकेटले । ग्लुमी सण्डेको सांगीतिक अभियानले कोरेको उदास आइतबारले धेरैलाई दुखित र निरश तुल्याउछ अझै पनि तर नेपाली क्रिकेटले भने यही आइतबार सुखद अध्याय कोरेको छ ।
नेपाली क्रिकेट इतिहासमा चम्किलो अध्याय कोरेको यही दिन नेपाली युवाहरुले भारतको क्रिकेटको गरिमालाई चुनौती मात्र दिएनन् उत्तरतर्फको सानो छिमेकी दक्षिण एसियाली क्रिकेटको कीर्तिमा उभिएको छनक पनि दिएको छ । क्रिकेटमा एक शताब्दी भन्दा लामो समयदेखि छाइरहेको भारतीय क्रिकेटलाई विश्वमा नै सम्मानका साथ हेर्ने गरिन्छ । नेपालले दक्षिण एसियाका अन्य क्रिकेटका शक्ति मुलुकहरुलाई उमेर समूहको खेलमा पराजयको स्वाद चखाइसके पनि भारतसंग भने सदैव निरीह बन्दै आएको थियो । तर त्यो अवस्था अव तोडिएको संकेत नेपाली किशोरहरुले दिएका छन् ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राखेको मुस्किले दुई दशक पार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको एशोसिएट सदस्यको हैसियतले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्दै आएको नेपाल टेष्ट त कता हो कता एक दिवशीय खेलको मान्यताका लागि प्रयासरत छ । यस्तो अवस्थामा भारत जस्तो टेष्ट मान्यता प्राप्त मुलुकलाई हराउन पाउनु नेपालका लागि चानचुने सौभाग्य होइन पनि । भारत र भारतीयका लागि क्रिकेट नै वास्तविकरुपमा सबैथोक हो । उनीहरुको व्यवहार, वानी र जीवनशैली नै क्रिकेटमा उनिएको छ भन्दा फरक नपर्ला । अझ विशाल भारतलाई एकताको सुत्रमा उन्ने सबैभन्दा शक्तिशाली माध्यम नै क्रिकेटलाई मानिन्छ । कुनै समय नेपालीहरु पनि क्रिकेट खेल्छन् र ? भन्ने हेपाहापूर्ण प्रश्नको शिकार बनेका वर्तमान राष्ट्रिय टोलीका कप्तान पारस खड्काले त्यो प्रश्नको जवाफ दिने दिन खोजिरहेका थिए । जुन आइतबार पूरा भएको छ ।
नेपाल क्रिकेट संघ क्यान लामो समयदेखि विवादमा छ । भनौ क्यानको अस्तित्वमा नै छैन यतिखेर । आइसीसीको प्रतिनिधिको मातहतमा नेपाली क्रिकेट चलिरहेको छ । खेलाडी छनौटदेखि नेपाली क्रिकेटको आन्तरिक व्यवस्थापन यतिखेर आइसीसीको हातमा छ । अर्थात पराधिन छ नेपाली क्रिकेट । तर मैदानमा खेलाडीहरुले त्यो पराधिनताको छनक दिएन , स्वाभिमानी संकल्प प्रस्तुत गरे । असीमित राष्ट्रप्रेमको भावना पोखे । जस्ले भारत जस्तो शक्तिशाली मुलुकमाथि जित सम्भव तुल्यायो । हुनत क्रिकेटमा असम्भव केही पनि हुँदैन भनिन्छ तर नेपालसंगको हकमा भारतले यस्लाई सदैव अस्वीकार गर्दै आएको थियो । यता नेपाली क्रिकेट प्रशिक्षक जगत टमाटा किशोरहरुको जितबाट प्रफुल्लित बन्दै यस्लाई नेपाली क्रिकेटको सुखद सुरुवातकोरुपमा लिन्छन ।
हुनत यो एक जित मात्र सबैथोक होइन । भारतसंगको यो जित गर्व गर्न लायक भएपनि अब धेरै गर्न बाँकी छ नेपाली क्रिकेटका लागि । भारतलाई सोच्न बाध्य बनाएको नेपालको यो जितपछि नेपालले पनि धेरै सोच्न आवश्यक छ । यही जित नेपाली क्रिकेटको विकासका लागि कोशुढ्ुंगा बन्न सक्नुपर्छ । यस्का लागि खेलकुदका ठेकेदारहरुले गम्भीर बन्न ढिलाई गर्न हुन्न ।