२६ कार्तिक २०७४, आईतवार
  • प्रकाश सिग्देल/शरद आचार्य

चितवन । उपभोग्य सामाग्रीको मूल्य आकाशिएको छ । तर, उत्पादन गर्ने किसानका आफ्नै दुःख छन् । उनीहरुले उत्पादनको मूल्य समेत पाउँदैनन् । त्यसैले पनि चितवनका किसानले दुधमा सरकारले दिएको अनुदान रकम बढाउनुपर्ने माग गरेका छन् । सरकारले अहिले प्रतिलिटर एक रुपैयाँ अनुदान दिदै आएको उनीहरुले पाँच रुपैयाँ बनाउनुपर्ने माग गरेका हुन् ।

उपभोक्ता मूल्यवृद्धिको थिलथिलोमा छन् । मूल्यवृद्धिको थोरै रकम पनि किसानसम्म पुग्ने गरेको छैन । यसैले पनि चितवनको भरतपुरका किसानहरुले अनुदान रकम बढाउन माग गर्न थालेका छन् । भरतपुर महानगर स्तरीय दग्ध क्षेत्र संरक्षण समिति चितवनले गरेको भेला तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले प्रतिलिटर ५ रुपैया अनुदान बिना किसानको हित हुन नसक्ने बताएका छन् ।किसानले घाटामा व्यवसाय गरेर नेपालमा पशुपालनको बिकास पनि सम्भव नहुने भन्दै प्रतिलिटर ५ रुपैया अनुदान पाउन नसके पशुपालनबाट विस्थापन हुनुपर्ने बताए ।

अनुदान रकममा मात्र होइन, व्यवसायीक पशुपालनमा प्रोत्साहन गर्नुपर्नेमा पनि सरोकारवालाहरुले जोड दिएका छन् । सरकारले थप व्यवसायीक बनाउन र पशु तथा दुध उत्पादनमा मुलुक आत्मनिर्भर बन्न पशु बिमा कार्यक्रम ब्यवस्थित गर्नु पर्ने उनीहरुको जोड छ । बैंक तथा मेसिनरीमा छुट गर्नु पर्ने, परियोजनाका आधारमा कर्जा सुबिधा दिनु पर्ने माग पनि उनीहरुले राखेका छन् । उनीहरुले दाना चोक्कर र परालको मूल्यमा भारी बृद्धि, गुणस्तरहीन दानाको प्रयोग मेसिनरी खरिदमा चर्को मुल्य, काम गर्ने जनशंत्तिको अभाव, उच्च स्तरीय पशु नस्लको अभाव लगायतका धेरै समस्या किसानले भोग्नु परेको पीडा पोखे ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले किसानको समस्या समाधान गर्न महानगर किसानसंगै हातेमालो गर्न तयार रहेको बताइन् । किसानका लागि नगरपालिकाले विभिन्न अनुदान र सहुलियत प्रदान गर्ने उनको प्रतिबद्धता थियो ।बढ्दो महँगीको मार खेप्न बाध्य किसानका जायज माग सम्बोधन गर्नुपर्नेमा सरोकारवालहरुको जोड थियो । कृषि उपजमा आत्मनिर्भर बनाउन सरकारले विशेष ध्यान पु¥याउन जरुरी छ ।

 

LIVE TV