२६ कार्तिक २०७४, आईतवार

काठमाडौँ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै विभिन्न जिल्लामा उम्मेद्वारहरुमाथि भइरहेको आक्रमणलाई लिएर निर्वाचन आयोगले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेको छ । आयोगले निर्वाचनका क्रममा उम्मेद्वारहरुमाथिको बढ्दो आक्रमण नियन्त्रण गर्न र सुरक्षा सतर्कता बढाउनका लागि भन्दै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेको हो ।

आइतबार अपरान्ह् निर्वाचन आयोग परिसरमा भएको छलफलमा सुरक्षा निकायका प्रमुहरुले आक्रमण गर्ने गिरोहको खोजी कार्यलाई तीव्रता दिइएको जनाएको छ । आयोगले सुरक्षा निकायका प्रमुहरुसँग सुरक्षाको विषयमा निकै सुक्ष्म ढंगले अनुसन्धान गर्न र उम्मेद्वारहरुमाथि बढ्दो आक्रमणले आम मतदाताहरुमा समेत सुरक्षाको विषयमा भय र त्रास उतपन्न भएकाले सजग हुन आग्रह समेत गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आईतबार नेपाल प्रहरी, सशष्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका प्रमुखहरुसँग सामूहिक भेटगरि सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गराउन उच्च सतर्कता अपनाउन सचेत गराउनुभयो ।

सरकारले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक जनशक्ति परिचालन गरिसकेको पनि स्पष्ट पारेको छ । यता गृह मन्त्रालयले सुरक्षा संयन्त्र परिचालन गर्ने बारेमा आयोगलाई विस्तृत जानकारी दिँदै आममतदाताहरुको सुरक्षा प्रमुख दायित्व भएको समेत जनाएको छ ।

LIVE TV