२६ कार्तिक २०७४, आईतवार
  • तारा आचार्य

मोरङ ।  प्रहरी प्रशासनले चेकजाँचमा कडाई नगर्दा मोरङमा अनुमति नै नलिई प्रचार प्रसारमा सवारी साधन चलाउने प्रवृत्ति बढ्दै गएको छ । प्रहरीले भने सवारी साधनको विषयमा कुनै पनि निर्देशन नआएकोले नियन्त्रणमा कठिनाई भएको प्रष्ट पारेको छ ।

प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारहरुलाई सवारी साधन प्रयोग गर्दा अनिवार्य अनुमति लिन निर्वाचन आयोगले निर्देशन दिएपनि मोरङमा अधिकांश उम्मेदवारहरुले अनुमति विना नै सवारी साधन चलाउने गरेको पाइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक जना उम्मेदवारले बाहेक कसैले पनि सवारी साधनको अनुमति नलिएको जनाएको छ । विना अनुमति पत्र चलेका सवारी साधन रोक्न निर्देशन दिईसकेको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिनुभयो ।

मोरङमा ६ प्रतिनिधि सभा र १२ प्रदेश सभा गरी १८ पदका लागि १६९ जना उम्मेदवारहरु निर्वाचनमा खडा भएका छन् । प्रहरीले भने आफुहरुलाई निर्देशन नआएकोले प्रचार प्रसारमा प्रयोग भएका सवारी साधन रोक्न समस्या परेको बताएको छ ।

प्रतिनिधि सभाका उम्मेदवारले प्रचार प्रसारका लागि ४ वटा हल्का चार पांग्रे सवारी साधन र ४ वटा मोटरसाइकल प्रयोग गर्न पाउने प्रावधान छ भने प्रदेश सभाका उम्मेदवारले २ वटा चार पांग्रे सवारी साधन र ४ वटा मोटरसाइकल प्रयोग गर्न पाउछन् । यसैगरी प्रत्येक पार्टीले दुई वटा चार पांग्रे सवारी साधन चलाउन अनुमति पाउने प्रावधान छ ।

 

LIVE TV