२६ कार्तिक २०७४, आईतवार

कृष्ण पाण्डे

पोथी लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगको संक्रमण रुपन्देहीमा दिनहुं बढ्दो छ । बुटवलमा २०६७ सालदेखि डेंगुको संक्रमण देखिन थालेकामा यसपटक देशभरमै सबैभन्दा धेरै संक्रमण भेटिएको हो ।

डेंगुको संक्रमण ह्वात्तै बढेपछि स्वास्थ्य मन्त्रालयका सचिव र चिकित्सा महाशाखाका निर्देशक बुटवल आएर रुपन्देहीका सरकारी तथा नीजि अस्पतालका चिकित्सक, स्थानीय निकायका प्रतिनिधि र अन्य सरोकारवालासंग संक्रमण रोकथामका लागि राय–सुझाव लिएका छन् । रूपन्देहीमा ५ सय ३५ जनामा डेंगु रोगको संक्रमण पुष्टि भएको छ । डेंगुको संक्रमणबाट साउन यता रुपन्देहीमा एक र अर्घाखांची शितगंगाका गरि दुई महिलाको मृत्यु भएको छ । २०७४ साउनदेखि दशैंसम्म १६ जनामा मात्रै डेंगु देखिएकामा दशैं लगत्तै डेंगुको संक्रमण ह्वात्तै बढेको जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केहरसिंह गोदारले बताउनुभयो ।

सर्वसाधारणसंगै २ जना चिकित्सकसहित १२ जना स्वास्थ्यकर्मीमा पनि डेंगु रोगको संक्रमण देखिएको थियो तर उपचार पछि उनीहरु स्वस्थ्य भएका छन् । यस्तै बुटवल उपमहानगरपालिका वडा नंं ८ का एकजना जनप्रतिनिधिलाई पनि डेंगुको संक्रमण भएकोमा उपचारपछि उनीहरु पनि स्वस्थ्य भएका छन् । ‘डेंगु परीक्षण गर्दा ५ सय ३५ जनामा पुष्टि भएको र रुपन्देहीमा अन्य झण्डै एक हजार जनामा डेंगुको संक्रमण हुनसक्ने आशंका रहेको लुम्बिनी अञ्चल अस्पतालका मेडिकल रेकर्डर लक्ष्मीराज रेग्मीले बताउनु हुन्छ । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा दैनिक ३० देखि ४० जनामा डेंगुको संक्रमण देखा परेको रेग्मीको भनाई छ ।

डेंगुका विरामी बढेकाले अस्पतालमा एउटै बेडमा दुई–तीन जनालाई राखेर उपचार गर्नुपरेको लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण खनालले बताउनुभयो । डेंगुका विरामीको चाप दिनहुं बढ्दो रहेको खनालको भनाई छ । एउटै बेडमा २–३ जनालाई राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको छ ।

डेंगुको संक्रमण बढ्दै गएपछि बुटवल उपमहानगरपालिका, विभिन्न संघसंस्थाले टोलटोलमा सचेतनाका कार्यक्रम सुरु गरे पनि ती प्रभावकारी हुन सकेको छैन ।

LIVE TV