
यहाँ व्यापारीहरु राजनिती गर्छन र राजनीतीज्ञहरु व्यापार गर्छन । यि दुवैले दुवै थोक गर्न पाउँछन तर समस्या पैसा र पावरको दुरुप्रयोग हुन्छ अनि व्यापार मात्र फस्टाउँछ । राजनीति सुकेर मरणासन्न हुन्छ । अर्को समस्या भनेको व्यापारीको चन्दाको प्रयोग गरी चुनाव लड्नु हो । प्रत्येक पार्टीका उमेदवारलाई चन्दा दिदा दिदा धन्दा नै बन्द होला भने डर बोकेका व्यापारीहरुलाई यो चुनाव काल बनेर आएको छ । सिधा साधा व्यापारीहरुलाई चन्दा मागेको माग्यै गरेर उमेदवारहरुले आतंकित बनाइरहेका छन् ।
चन्दा माग्नेको भनाई छ मलाई सहयोग गरे आँफुले जिते पछि सहयोग गर्छु । निती नियम भित्र बसे कसैले सहयोग किन गर्नु प¥यो व्यापारीलाई ? त्यसमाथी पनि असल र लोकप्रिय नेता जनताको भोटले जित्छ व्यापारीले नोटले होइन । खराव नियतका व्यापारी, विचौलीया,ठेक्केदारहरुको पैसा लिएर चुनाव जित्नेले चुनाव जितेपछि जनताको लागि काम गर्छ ? मरेपनि गर्दैन । अर्काको बासीभात खाएको नेताले जसको भात खाएको छ उसैको टट्टु बनेर उसैको वरीपरी भन्कीन्छ । गलत प्रकृयाबाट ठेक्का पट्टा उसैलाई सुम्पीन्छ आफ्नो भाग शेयर पनि सुरक्षीत गर्छ अनि भोट दिने जनतालाई एक मिनेट भेट्न पनि समय दिदैन तर उसलाई चन्दा दिनेहरु ति नेताहरुको भान्छा र बेडरुमसम्मै पुग्छन । छ्या कति घिनलाग्दो त राजनिती ।
अधिकांस नेताहरुको साइड बिजनेश छ, नहुनेले विभिन्न व्यापारबाट कमिशन र शेयर सुरक्षित गरेका छन् र ति नेताहरुले आफ्नो इन्ट्रेस्टको व्यापारका लागि लविङ गर्छन । २ वटा अनुहार भएका बहुतै घटिया छन् कोही कोही त । तपाई हामीले दुइ हात जोेडेर शरीर झुकाएर नमस्ते गरेको हेर्दै नहेरी सरासर हिड्नेहरु आज भोली तपाईलाई घर घरमै पुगेर नमस्ते ठोक्दै हिड्न थालेका छन् । तपाई हाम्रो नमस्तेको कुनै मुल्य नराख्नेहरुको नमस्ते केवल,भोटको लागि हो । हाम्रो भोट लिएर जब उ जान्छ त्यसपछी उसलाई भेट्न पाउने भनेको हामीले होइन उसका पकेटका केही व्यापारी, व्यवसायी,माफिया,डन,घुस खोर र दलालहरुले हो ।
विना अनुमती मापदण्ड नाघेर चलेका सयाँै व्यवसाय र तिनका मतियारलाई संरक्षण दिन उ तपाई हाम्रो भोटको चरम दुरुप्रयोग गर्छ, हामी हाम्रा नातेदारले भनिहाले भनेर कुरै नबुझी उसैलाई भोट दिन्छौ । सोच्नु होस, हाम्रो भोटको खिल्ली उडाउने धेरै सिल्लीहरु तपाईको घर घरमा झुठो नमस्कार र नक्कली हाँसो बोकेर आउँदैछन् । तपाईको घरको ढोकाको चुकुल बलियो त छनी ?