
तिलोत्तमा, रुपन्देही। स्पष्ट कानुन तथा नीति नभएकाले यातायात क्षेत्रले समस्या भोग्दै आएको यातायात व्यवसायीले बताएका छन् ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको आज आयोजित १८ औँ वार्षिक साधारणसभामा उनीहरूले राज्यले स्पष्ट नीति नल्याउँदासम्म यातायात व्यवसाय फस्टाउन नसक्ने गुनासो गरेका छन् ।
भारतीय ओभरलोड गाडीलाई निर्बाधरुपमा छुट दिँदा नेपाली गाडीले काम नपाई व्यवसायी बैंकको व्याज तिर्न नसक्ने अवस्थामा पुगेको उनीहरूको भनाइ छ । भारतीय ओभरलोड गाडीका कारण सडक, पुलपुलेसाहरू भत्किने गरेको र दुर्घटना बढ्दा पनि नियमकारी निकाय मौन रहंँदा समस्या भएको तिनको भनाइ छ ।
कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटले यातायात सेवासम्बन्धी विधि र नीतिनिर्माण गर्न महासंघले प्रतिबद्ध भएर राज्यसँग पहल गरिरहेको बताउनुभयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष हीरालाल श्रेष्ठले हरेक क्षेत्रका व्यवसायीका समस्या समाधान गर्ने दायित्व राज्यको भए पनि उनसले आफ्नो दायित्वलाई पूरा गर्न नसकेको आरोप लगाउनुभयो । सिद्धार्थ नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले हरेक क्षेत्रका व्यवसायीका समस्याप्रति स्थानीय सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
जनप्रतिनिधिलाई सम्मान
कार्यक्रममा सिद्धार्थ नगरपालिकाका प्रमुख अधिकारी, सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, देवदह नगरपालिकाका प्रमुख हीराबहादुर केसी, बुटवल–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीलगायत जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।