
काठमाडौँ । सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले गरिबी अन्त्यको मूल मुद्दा लिएर आफू चुनावमा उठेको बताउनुभएको छ ।
नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ ले आज आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले गरिबको दल हूँ भन्नेले गरिबी घटाउन नचाहेको आरोप लगाउनुभएको छ ।
“नेपालका साम्यवादी दलले आफूलाई गरिबको पार्टी भन्छन्, त्यसैले गरिबी घटाए भने ती दलको जनाधार सकिन्छ, यसकारण उनीहरु गरिबका नाममा राजनीति मात्र गर्छन्, गरिबी घटाउन्नन्, काँग्रेस सबै नागरिकलाई मध्यमस्तरको जीवनयापन गर्नसक्ने आधार बनाउन चाहन्छ, यसैले गरिबी घटाउनु हाम्रो मूल लक्ष्य हो”– उक्त क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसकोतर्फबाट उम्मेदवारसमेत रहनुभएकी नेत्री बस्नेतले भन्नुभयो ।
बिपी कोइरालाले भन्नुभएको प्रजातान्त्रिक समाजवाद भनेकै न्यून जीवनस्तर भएका जनतालाई आफ्नो आवश्यकता पूर्ति गर्नसक्ने बनाउनु रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा काँग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापति एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले क्षेत्रको पूर्वाधार निर्माण एवं विकासको नेतृत्व काँग्रेसले लिएको बताउनुभयो ।
सो क्षेत्रको प्रदेशसभा ९क० का उम्मेदवार छिरिङदोर्जे लामा, ९ख० का उम्मेदवार विमल ठकुरी लगायतले लोकतान्त्रिक मूल्य मान्यतालाई जीवन्त राख्न काँग्रेसलगायत लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो ।