२५ कार्तिक २०७४, शनिबार
  • तारा आचार्य

मोरङ। मंसिरमा हुने निर्वाचनको चहलपहल बढेसंगै सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगी व्यवसायीहरु भने चन्दा आतंकका कारण सम्पर्कविहीन भएर बस्न बाध्य भएका छन् । निर्वाचनको दिन नजिकिदै गएपछि उम्मेदवार तथा तिनका नेता र कार्यकर्ताहरुले फोनबाट निर्वाचनका लागि चन्दा माग्न थालेपछि व्यापारीहरु मोबाइल स्वीच अफ गरेर कोही विदेश यात्रामा त कोही तीर्थ यात्रामा गएको मोरङ व्यापार संघले जनाएको छ ।

मोरङबाट डेढ दर्जन उद्योगी व्यापारीहरु करिब एक महिनाका लागि भारतको विभिन्न ठाँउमा घुम्न तथा तीर्थ यात्रामा गएको मोरङ व्यापार संघका अध्यक्ष पवन शारडाले जानकारी दिनुभयो । पार्टीलाई स्वविवेकले चन्दा दिन आफुहरु तयार रहेको भएपनि उम्मेदवारपिच्छे चन्दा माग्न थालेकाले केही दिन घुमघाम पनि हुने र टेन्सन पनि नहुने भएकाले विदेश यात्रामा गएको अध्यक्ष शारडाले बताउनु भयो ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा मेयर देखि वडा सदस्य सम्मलाई आर्थिक सहयोग गरेका उद्योगी व्यापारीहरुलाई संसद र प्रदेश सभाको निर्वाचनले थप आर्थिक भार थपिएको बताइएको छ । प्रतिनिधि सभाको उम्मेदवारहरुका लागि १ लाख रुपैया देखि चन्दा माग गर्ने गरिएको व्यापारीहरुको गुनासो छ ।

उम्मेदवार उठाएपछि पार्टीहरुले नै निर्वाचन खर्च पनि दिने परिपाटी ल्याउन व्यापारीहरुले आग्रह गरेका छन् । पहिले जस्तै समानुपातिकमा उद्योगी व्यापारीलाई सिट दिएर निर्वाचन खर्च जुटाउन सकिने पनि उनीहरुको सुझाव छ । मोरङमा ६ जना प्रतिनिधि सभा सदस्य र १२ जना प्रदेश सभा सदस्यका लागि १ सय ६९ जनाले उम्मेदवारी दिएका छन् ।

 

LIVE TV