
काठमाण्डौ । शनिवार नारायणगढ मुग्लिन सडक दिनभर बन्द हुने भएको छ । सडक विस्तारका लागि भित्तो काट्ने कामलाई निरन्तरता दिन नारायणगढ–मुग्लिन सडक खण्ड आज दिनभर बन्द हुने भएको हो ।
निर्माण कार्यलाई तीव्रता दिनका लागि मुग्लिन सडक बिहान १० देखि साँझ ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइने भएको हो । सेती दोभान नजिक पर्ने ठूलो चट्टान सहितको ढिस्को झार्नका लागि सडक बन्द गर्ने निर्णय गरिएको सडक आयोजना कार्यालयका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो । वर्षा र चाडपर्वको समय परेका कारण झन्डै दुई महिनायतादेखि रोकिँदै आएको भित्तो काट्ने काम शनिबार दिनभर सडक बन्द गरेर गर्ने आयोजनामा खटिएका इन्जिनियरहरुले जनाएका छन् ।
यता आइतबारदेखि भने पुनः दैनिक साढे ४ घन्टा सडक खण्ड अवरुद्ध हुनेछ । बिहान ७ देखि ८स्३० बजेसम्म, ११ बजेदेखि १२ बजेसम्म, दिउँसो १ बजेदेखि २ बजेसम्म र दिउँसो ३ बजेदेखि ४ बजेसम्म गरी जम्मा साढे ४ घन्टा सवारी बन्द गर्ने जनाइएको छ । सडकको नारायणगढबाट १६ किलोमिटरमा तीन सय मिटर, घुमाउनेमा दुई सय मिटर, चेपाङ डाँडा र जलवीरेमा गरी तीन सय मिटर क्षेत्रमा सडक चौडा गर्ने काम अझै बाँकी रहेको छ ।