२४ कार्तिक २०७४, शुक्रबार

सुमन कार्की

स्थानीय तहको गठन भएको ४ महिना वितिसकेको छ । तर, पाल्पाका कतिपय नगरपालिकाको वडा कार्यालय अझै सञ्चालनमा आउन सकेका छैनन् । स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहका कतिपय वडा कार्यालयहरु सञ्चालनमा आउन नसक्दा सर्वसाधारण मारमा परेका छन् ।

स्थानीयतहको निर्वाचन सकिएको ४ महिना वितिसक्दा पनि रामपुर नगरपालिकाको वडा कार्यालय सञ्चालन हुनसकेको छैन । रामपुर नगरपालिकामा वडा कार्यालय संचालन नहुदा ५ घण्टा सम्म हिडेर सेवा लिनु परेको बाध्यता सेवाग्राहीको रहेको छ ।

हाल यो नगरपालिकामा १० वटा वडा रहेका छन् । वडा नंं २ र ६ वडामा मात्र वडा कार्यालय संचालनमा आएको छ भने अन्य ८ वटा वडा कार्यालय विहिन छन् । अधिकांश वडाबाट नगरपालिकाको कार्यालय पुग्न घण्टौं लाग्ने गरेको स्थानीयको गुनासो छ ।

वडा कार्यालयको समस्या मात्र होइन, वडाको कार्यसञ्चालनका लागि नगरपालिकाको कार्यालयमा वडा अध्यक्षको बस्ने स्थान नै नभएको जनप्रतिनिधिको आफ्नै गुनासो छ । नगरपालिकाकै कार्यालय प्रयोग गरिएपनि व्यवस्थित हुन नसक्दा सेवाग्रहीको काम गर्न नसकिएको वडा नम्बर ३ का अध्यक्ष दिलबहादुर गाहा बताउँछन् ।

कर्मचारी व्यवस्थापनको समस्या त अझैं सुल्झिन सकेको छैन । कर्मचारी व्यबस्थापनका लागि जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारीको पटक पटक ध्यानआर्कषण गराउदै आएपनि हालसम्म कर्मचारी नआएको नगर प्रमुख रणबहादुर थापाको दुखेसो गर्छन ।

रामपुर नगरपालिकामा गेझा, खालीवन, दर्छा, बाकामलाङ्गका जनता यातायातको सुविधा नहुदा ५ घण्टा सम्म हिडेर सेवा लिन बाध्य हुदै आएका छन् । उपयुक्त स्रोत र संरचना नहुँदा स्थानीय सरकार अलपत्र बनेको पाल्पाको यो समस्या कहिले अन्त्य हुने हो ? सर्वसाधारण प्रश्न गर्छन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV