२४ कार्तिक २०७४, शुक्रबार

बसन्त लिम्बू

किराँत धर्मका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीका दिन ताप्लेजुङको दुई स्थानीय तहले सार्वजनिक विदा दिने भएका छन् । ताप्लेजुङको फुङ्लिङ् नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाले सार्वजनिक विदा दिने भएका हुन् ।

सरकारले कात्तिक २५ गते महागुरु फाल्गुनन्द जयन्तीमा किरात धर्मवलम्बीहरुलाई मात्र बिदा दिइने निर्णय गरेको भए पनि त्यस दिन देशैभरि सार्वजनिक बिदा दिनु पर्ने भन्दै किरात धर्म तथा साहित्य उत्थान संघले स्थानीय तहमा पत्र पठाएर विदाको माग गरेको थियो । सोहि माग अनुरुप स्थानीय तहको कार्यपालिकाको वैठकले यस्तो निर्णय गरेको फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले जानकारी दिनुभयो । आउँदो वर्षको लागि भने प्रदेश सरकारले विदा नदिए पनि स्थानीय तहको परिषद्वाट भए पनि आफुँहरुले कानुन वनाएर विदा दिने प्याकुरेलको भनाई छ ।

संघका जिल्ला सचिव ज्ञानु फुरुम्वो चरपेले महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूतिको सम्मान दिइसकेपछि महागुरुको जन्मजयन्तीमा किरात धर्मवलम्बीहरुलाई मात्र लक्षित गरेर सार्वजनिक बिदा दिनु उपयुक्त नभएको बताउनु भयो । उहाँले देशैभरि सार्वजनिक विदाको व्यवस्था गर्न स्थानीय तहमा माग गरेको र सो दिन ताप्लेजुङका स्थानीय तहले पनि सार्वजनिक विदाको स्वीकृत गरेकाले स्थानीय सरकारको महसुस भएको वताउनु भयो ।

गत वर्षको मंसिर ३ गतेको मन्त्रिपरिषद्को निर्णयले हरेक वर्ष कात्तिक २५ गते महागुरुको जन्मजयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर सरकारद्वारा सार्वजनिक गरिएका बिदाका दिनहरुको सूचीमा भने किरात धर्मावलम्बीका लागि मात्रै भनी उल्लेख गरिएको छ । यस अघि संघले विज्ञप्ति निकालेर राष्ट्रिय विभूतिको जन्मजयन्तीमा कुनै एक सम्प्रदायका लागि मात्रै भनेर उल्लेख गरिनु नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV