२४ कार्तिक २०७४, शुक्रबार

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुका प्रतिनिधि सभा सदस्यको उम्मेद्धार बलबहादुर केसी आफ्नै गृहजिल्लामा लखेटिएका छन् । चुनावी प्रचारप्रसार अभियानको क्रममा रहेका केसीलाई बाम गठबन्धनका कार्यकताबाट शुक्रबार विहान सोताङमा लखेटेका हुन् ।

शुक्रबार सोताङमा बाम गठबन्धनको चुनावी कार्यक्रम हुदैछ । उक्त कार्यक्रमको लागि बाम गठबन्धनका उम्मेद्धार हेमकुमार राई, समानुपातिक उम्मेद्धार सोनाम शेर्पा, चुनाव परिचालन समितिका संयोजक मानबीर राईलगायत सोताङमा छन् । केसी पनि महाकुलुङ तर्फको कार्यक्रम सकेर सोताङ आइपुगेका थिए । सोही क्रममा विहिबार नै केसीको कार्यकर्ता र बाम गठबन्धनका कार्यकर्ताबीच झडपको स्थिति सिर्जना भएको थियो ।

केसीका कार्यकर्ताहरुले विहिबार राती बाम गठबन्धनको पर्चा पम्प्लेट च्यातेपछि बाम गठबन्धनका कार्यकर्ताहरुले त्यसको प्रतिरोध गर्दा स्थिति तनावपूर्ण बनेको बताइएको छ । अन्तिममा केसीका कार्यकर्ताहरु भागेपछि स्थिति साम्य भएको थियो ।

पुनः शुक्रबार विहानै दुई पक्षबीच विवाद उत्पन्न भयो । करिब ४० जना कार्यकर्तासहित रहेका केसीले भिड्न आइज भनेर चुनौति दिदै ज्याकेट खोलेपछि शुक्रबार विहान झडपको स्थिति सिर्जना भएको बाम गठबन्धनका उम्मेद्धार हेमकुमार राई सुरबीरले शिखरपोष्टसँगको कुराकानीमा दाबी गरेका छन् । उनका अनुसार केसीले त्यस्तो हर्कत गरेपछि केहीबेर दुईपक्षबीच ढुंगा हानाहानसमेत भयो । प्रहरीको संरक्षणमा केसी भागेको पनि उनले दाबी गरेका छन् ।

कार्यक्रम विथोल्नका लागि यस्तो हर्कत गरेको सुरबीरको दाबी छ । उनले बलबहादुर केसीका कार्यकर्ताहरुले प्रहरीको बन्दुकसमेत खोस्न खोजेको र सोताङ प्रहरी चौकीका सई मंगलसिंह तामाङले बलबहादुर केसी पक्षको संरक्षण गरेको आरोपसमेत लगाए ।

‘केसीको यो हर्कत आसन्न निर्वाचनमा पराजित मानसिकताको उपज हो’ सुरबीरले भने ‘घटनाको अभिलम्ब छानविन गरी दोषीमाथि कानुनी कारबाही गरिनुपर्छ । केसीलाई भगाउने सोताङ प्रहरी चौकीका सई अगमसिंह तामाङलाई कारबाही गर्नुपर्छ र प्रहरीको हतियार खोस्न खोज्ने बलबहादुर केसीका कार्यकर्ताहरुको पहिचान गर्नुपर्‍यो । होइन भने हामी पनि आफ्नै तरिकाबाट कदम चाल्न बाध्य हुनेछौं ।’

यस विषयमा बुझ्न शिखरपोष्टले केसीलाई टेलिफोन गर्दा ‘म लोखिम जाँदैछु । गर्ने मान्छेलाई सोध्नुस् । मलाई नसोध्नुस्’ भनेर फोन काटे । झडपमा दुबै पक्षको आधा दर्जन कार्यकर्ता घाइते भएको बुझिएको छ । shikharpost.com

प्रतिक्रिया दिनुहोस्
LIVE TV