२३ कार्तिक २०७४, बिहीबार

पर्सा । नेपालमा जापानको पहिलो लगानीका रुपमा रहेको केएनपी जापान प्राइभेट लिमिटेडको नेपालका लागि जापानका राजदूत र जापानका उद्योगीहरुले स्थलगत अवलोकन गरेका छन् । वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा रहेको पेन्ट्स उत्पादन गर्ने केएनपी जापान प्राइभेट लिमिटेडको जापानी राजदूत मासाशी ओगावा र जापानीज चेम्बर अफ कमर्श एण्ड इण्डस्टिजका अध्यक्ष टाकुहिको टोकिरी सहितको टोलीले स्थलगत अवलोकन गरेको हो ।

उद्योगले कन्साइ नेरोलाक ब्राण्डको पेन्ट्स उत्पादन गर्दै बजारमा बिक्री गर्दै आएको छ । तत्कालीन शालीमार पेन्ट्स र कन्साइ नरोलाक पेन्ट्सबीचको संयुक्त उपक्रमका क्रममा सन् २०१२ को अक्टोबरमा जापान प्राइभेट लिमिटेड स्थापित भएको हो । उक्त उद्योगमा जापान र भारतको ६८ प्रतिशत र नेपाली उद्योगीको ३२ प्रतिशत लगानी रहेको छ । बुधबार उद्योगको स्थलगत अवलोकनका क्रममा जपानी राजदूत ओगावाले नेपालमा जापानको पहिलो लगानीका रुपमा केएनपी जापान प्राइभेट लिमिटेड उद्योग रहेको बताउनु भयो ।

अवलोकनको क्रममा जापानीज चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिजका अध्यक्ष टाकुहिको टोकिरीले नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेको भन्दै निकट भविष्यमै जपानका उद्योगीले नेपालमा अझ ६ वटा उद्योग स्थापना गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । स्थलगत अनुगमनका क्रममा केएनपी जापान प्राइभेट लिमिटेडका नेपाली साझेदार एंव वीरगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष अशोक बैद्यले केएनपी जापान प्राइभेट लिमिटेड बहुराष्टिय कम्पनी भएको भन्दै विश्वभर ४० भन्दा बढी देशमा यस कम्पनीले आफनो उत्पादन उपलब्ध गराउदै आएको बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV