२३ कार्तिक २०७४, बिहीबार

पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने निर्वाचनमा प्रतिनिधिसभा तर्फ बैतडीमा बहालवाल र पूर्व राज्यमन्त्रीबीच प्रतिस्पर्धा हुने भएको छ।

दोस्रो संविधानसभा निर्वाचनका बेला दुई क्षेत्र रहेको बैतडीमा क्षेत्र नं १ बाट नेकपा एमालेका दामोदर भण्डारी विजयी भएका थिए भने क्षेत्र नं २ बाट नेपाली कांग्रेसका नरबहादुर चन्द विजयी भएका थिए। भण्डारी केपी ओली सरकारका बेलामा अर्थ राज्यमन्त्री बनेका थिए भने चन्द अहिले वाणिज्य राज्यमन्त्री छन्।

जिल्लामा आसन्न निर्वाचनमा प्रतिनिधिसभाका लागि एउटा मात्र क्षेत्र रहेको छ। पूर्व अर्थराज्यमन्त्री भण्डारी वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका छन् भने वाणिज्य राज्यमन्त्री चन्द लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनावी मैदानमा छन्।

संविधानसभाको दोस्रो निर्वाचनमा भण्डारी ११ हजार ६७१ मतसहित विजयी भएका थिए भने चन्द १२ हजार ४६६ मत ल्याई विजयी भएका थिए।

स्थानीय तहको निर्वाचनको मतपरिणामलाई हेर्दा वाम गठबन्धनको बढी मत छ। जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहको प्रमुखमा कांग्रेस विजयी भएको थियो। तीन स्थानीय तहमा एमाले तथा एक स्थानीय तहको प्रमुखमा माओवादी केन्द्रले जित हात पारेको थियो।

जिल्लाको ८४ वटा वडामा एमालेले २७ हजार ३८९ र माओवादी केन्द्रले १८ हजार ७१९ मत प्राप्त गरेको थियो। कांग्रेसले २७ हजार ८७ मत प्राप्त गर्दा राप्रपाले ६ हजार ४०४ मत पाएको थियो।

पूर्व प्रधानमन्त्री तथा राप्रपाका पूर्व अध्यक्ष लोकेन्द्रबहादुर चन्दको गृहजिल्ला बैतडीमा कांग्रेसले राप्रपासँग चुनावी तालमेल गरेको छ। प्रतिनिधिसभा सदस्यका दुवै उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्।

सारा कम्युनिष्ट एक भए पनि आफू लोकतन्त्रको पक्षमा रहेकाले आफ्नो जित सुनिश्चित भएको लोकतान्त्रिक गठबन्धनका उम्मेदवार चन्दको भनाइ छ। ‘लोकतन्त्रको रक्षा र संविधानको पूर्ण कार्यान्वयन गर्न लोकतान्त्रिक गठबन्धन विजयी हुन्छ’, उनले भने, ‘देशको विकास र आर्थिक समृद्धि लागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ।’ आफूले जितेको खण्डमा मात्रै समग्र बैतडीको विकास हुने उनले दाबी गरे।

जारी गरिएको संविधानलाई कार्यान्वयन गर्दै आत्मनिर्भर अर्थतन्त्रको बाटोबाट मुलुकको विकास गरी समाजवादको दिशातर्फ अघि बढ्न आफूहरुको उम्मेदवारी रहेको वाम गठबन्धनका उम्मेदवार भण्डारी बताउँछन्। जिल्लाको विकासका लागि सधैं लागिपरेको बताउँदै भण्डारीले आफू विजयी भए बैतडीको मुहार फेरिने दाबी पनि गरे। भने, ‘सडक, शिक्षा, स्वास्थ लगायतका विकासका पूर्वाधारमा जोड दिइनेछ।’

यसैगरी प्रतिनिधिसभाका लागि जिल्लामा विवेकशील साझा पार्टीका तर्फबाट नारायणदत्त अवस्थी, राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी र एकीकृत राप्रपा राष्ट्रवादीबाट त्रिलोकबहादुर चन्दसमेत चुनावी मैदानमा उत्रिएका छन्।
एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा प्रतिनिधिसभाका लागि एउटा र प्रदेशसभाका लागि दुईवटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV