२३ कार्तिक २०७४, बिहीबार

चितवन । अब कांग्रेसको फेरो समाएर सत्तामा नजाने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । कांग्रेस नेताहरुले चुनावपछि कांग्रेसले नै प्रचण्डलाई प्रधानमन्त्री बनाउनु पर्ने बताइरहेका बेला प्रचण्डले त्यसलाई अस्वीकार गरे ।उनले सरप्राइज दिने गरी एमालेसँग पार्टी एकता घोषणा गर्ने बताए । उनले भने, ‘दशैं मनाइरहेका नेपालीलाई एमाले र माओवादीको पार्टी एकता संयोजन समिति र वाम तालमेलको घोषणा जसरी सरप्राइज लागेको थियो । त्यसैगरी चुनाव लगत्तै पार्टी एकताको घोषणा गरिनेछ ।’

अनेमसंघ र अनेमसंघ क्रान्तिकारीले गरेको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सत्ताको डाडुपन्यू कम्युनिष्टहरुको हातमा ल्याउन एमाले र माओवादीवीच एकता गर्न लागिएको बताए । ‘कहिले एमाले कांग्रेससँग मिलेर जाला कहिले माओवादी कांग्रेससँग मिलेर जाला तर मुलतः डाडपन्यू कांग्रेसकै हातमा हुन्छ यसरी समाजवाद ल्याउन सकिँदैन’ उनले भने ।

पार्टी एकताको तयारी पूरा भएको उनले बताए । ‘हिजो मात्रै मैले एमाले अध्यक्ष केपी ओलीसँग कुरा गरेको छु, पार्टी एकतालाई छिट्टै टुग्याउने समझदारी भएको छ’ उनले भने ।

प्रचण्डले यदि सरकारले १० दिन मात्रै निर्वाचन सरेको भए पार्टी एकता घोषणा गर्ने योजना बनेको सुनाए । एमाले र माओवादीभित्र विचारधारा, कार्यगत र टिकट वितरणको असन्तुष्टिलाई ‘क्यास’ गरेर वाम गठवन्धन र पार्टी एकतालाई भत्काउन खोजेको भन्दै उनले त्यसविरुद्ध नेतृत्व र आम कार्यकर्ता पंक्ति सचेत भएर लाग्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV