२३ कार्तिक २०७४, बिहीबार

गोविन्द कुँवर

अछाम । अछामको चित्रेस्थित बुढीगंगा नदीमा निर्माणाधीन पुलको निर्माण कार्य कथामा नै सीमित बन्दा अछामवासीको सुविधाका साथ गाडी चढ्ने सपना निरन्तर टाँढिदै छ । २०७२ सालको मंसिरमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य सहित निर्माण सुरु गरिएको अछाम चित्रे पुलको निर्माण कार्यमा ठेकेदार कम्पनीले निरन्तर लापरवाही गर्दा पनि कसैको ध्यान नजानु आश्चर्यको विषय बनेको छ ।

२०७० सालमा शिलान्यास गरी निर्माण सुरु भएको उक्त पुल अत नन्देगडा तुल्सी दुर्गा जेवी कन्ष्ट्रक्सनले २२ महिनामा पूरा गर्ने गरी जिल्ला बिकास समितिबाट ५ करोड ६३ लाखमा संम्झौता गरेको थियो । २२ महिनामा निर्माण कार्य पूरा गर्ने संम्झौता भएको ५ वर्ष पुग्न लाग्दा पनि अझै पुल निर्माणको १० प्रतिशत काम मात्र भएको छ । यस विषयमा उक्त निमार्ण कम्पनीले कुनै प्रतिक्रिया दिन मानेका छैनन् । काम १० प्रतिशत मात्र भए पनि निर्माण कम्पनीले जिल्ला समन्वयन समितिबाट ३ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । भुक्तानी भए पनि काम नहुँदा समेत जिल्ला समन्वय समिति मौन छ । पुल निर्माणमा ढिलाई हुनु र ठेकेदार कम्पनीलाई कारवाही नहुँदा जिल्ला समन्वय समितिको मिलोमतोमा पुलको काम नभएको स्थानीयले आंशंका गरेका छन् ।

यता पुल निर्माणपछि स्थानीयको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षाका साथ सोही पुल निर्माणमा लागेको स्थानीय मजदुरले ज्याला पनि पाउन सकेको छैन । पुल बनेको भए पनि पुल बनेकोमा नै सन्तोष मान्ने अवस्थामा रहेका मजदुर पुल नबन्दा र आफूहरुले पारिश्रमिक समेत नपाउदाँ झन दुःखी बनेका छन् ।

‘डोटी र अछामको सिमाना चौखुट्टबजारबाट सदरमुकाम मंगलसेन पुग्न सबैभन्दा नजिकको बाटो पर्ने उक्त पुल बन्न नसक्दा स्थानीय लामो यात्रा गर्न बाध्य भएका छन् । यता मंगलसेन नगरपालिका र चौरपाटी गाँउपालिकाका प्रमुखहरुले भने समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारवाहीका लागि कानुनी उपचार खोज्ने प्रतिबद्धता जनाएका छन् ।

२२ महिनामा बन्ने संझौता भएता पनि ४ बर्ष विति सक्दा पनि निर्माण हुन नसक्नुले अछामवासीलाई हैरान बनाएको छ । तर ठेकेदारले ठाडै ठग्दा पनि उनीमाथि कारवाही नहुनुले भने धेरै प्रश्नहरु जन्माएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV