२२ कार्तिक २०७४, बुधबार

काठमाडौँ । सामान्य प्रशासन मन्त्रालय प्रदेश प्रमुख र प्रदेश प्रमुखको सचिवालयको लागि कर्मचारी व्यवस्थापन गर्न मापदण्ड निर्माणमा जुटेको छ । प्रदेश प्रमुख र सचिवको नियुक्ति तथा कार्य जिम्मेवारी सम्बन्धमा अन्तरिम व्यवस्था गर्न मापदण्ड तयार गर्ने कार्यमा जुटेको मन्त्रालयले जनाएको छ ।

प्रदेश प्रमुखको नियुक्ति पश्चात प्रदेश प्रमुखको कार्यालयको संरचना साथै कर्मचारीहरुको तत्कालीन व्यवस्था कस्तो हुने विषयमा अन्तरिम व्यवथापनको गृहकार्य अन्तिम चरणमा पुगेको सामान्य प्रशासन मन्त्रालयको भनाई छ । मन्त्रालयले तयार गरेको संरचना प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयमा पेश गर्ने तयारी गरिएको हो ।

कर्मचारी समायोजन तथा पुनः संरचना नीति तथा कानूनी आधारमा दस्तावेज मस्यौदाहरु अधिकार संम्पन्न संघीय प्रशासन पूनसंरचना समितिले अन्तिम रुप दिने काम बाँकी रहेको सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिनुभयो ।

मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट कर्मचारी व्यवस्थापन नहुन्जेलसम्मका लागि संघ,प्रदेश र स्थानीय तहमा मौजुदा रहेका कर्मचारीलाई नै परिचालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV