२२ कार्तिक २०७४, बुधबार

काठमाडौं । चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको टोलीले काठमाडौंदेखि पोखरासम्म रेल निर्माणका लागि स्थलगत अध्ययन गरेको छ । अध्ययन पश्चात टोलीले काठमाडौं-पोखरा बेल्टमा रेल निर्माण निर्माण सहज देखिएको बताएको छ ।

रेल विभागका प्रवक्ता प्रकाशभक्त शर्माकाअनुसार स्थलगत अवलोकनपछि उनीहरुले रेल निर्माणका विषयमा सकारात्मक प्रतिक्रिया दिएको बताएका छन् । प्रस्तावित रेलमार्गको निर्माण सम्भव भएको उनीहरुको प्रतिक्रिया थियो । ‘पोखरा आइपुगेको चिनियाँ टोलीले अवलोकनपछि सकारात्मक प्रतिक्रिया दिएका छन् , अब बिहीबार यो टोलीले लुम्बीनीसम्मको भौगर्भिक अध्ययन गर्दैछ,’ उनले भने,’चिनियाँ टोलीको प्रतिक्रियाले हामी पनि उत्साहित छौं ।’

केरुङ-काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्ग बनाउन स्थलगत अध्ययन गर्न चिनियाँ उच्च अधिकारीको टोली सोमबार काठमाडौं आएको हो । सोमबार देखि उनीहरुले निरन्तर रेलका बारेमा छलफल तथा स्थलगत अवलोकन गरिरहेको छ । नेपालको भौगोलिक अवस्था र रेलमार्गका लागि चीनले गर्नुपर्ने सहयोगका विषयमा अध्ययन तथा छलफल गर्न टोलीले जिम्मेवारी पाएको छ ।

तिब्बती पठारको सिगात्सेसम्म निर्माण भइसकेको रेलमार्ग केरुङ हुँदै काठमाडौंसम्म जोड्ने योजना छ । नेपालले हस्ताक्षर गरिसकेको ‘वान बेल्ट, वान रोड’को अवधारणाभित्र पर्छ, उक्त रेलमार्ग । नेपाली पक्षले त्यसलाई तीव्रताका साथ अगाडि बढाउन चिनियाँ पक्ष सकारात्मक देखिएको छ ।

उक्त रेलमार्ग काठमाडौंबाट लुम्बिनीसम्म जोड्ने सरकारी योजना छ । विभिन्न चिनियाँ कम्पनीले चासो देखाउँदै उक्त रेलमार्ग निर्माणका लागि नेपालको रेल्वे विभागसँग इच्छा व्यक्त गर्दै आएका छन् । अब सरकारी स्तरबाटै यो विषयलाई टुंग्याएर रेलमार्ग निर्माणमा बढ्ने योजना बनेको छ ।

चीनले प्रस्ताव गरेको ट्रान्स हिमालयन रेलवे तिब्बतको सिगात्सेबाट सुरु हुन्छ । नेपालका लागि त्यहाँबाट केरुङ सीमानासम्म रेलवे विस्तार गरिनेछ । चिनियाँ अनुसन्धानकर्ताहरुले यो रेल सेवा द्रुत गतिको भने नहुने बिहीबार आयोजित एक कार्यक्रममा बताएको पीटीआईले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV