२२ कार्तिक २०७४, बुधबार

काबुल । आतंकबादको निशानामा परेको अफगानिस्तानको काबुलस्थित एक टेलिभिजनको प्रसारण सुरु भएको छ । सेनाको सहयोगमा आतंकबादीलाई निस्तेज पारिएपछि टेलिभिजन पुनः सुरु गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

मंगलबार सबेरैबाट आतंकबादीको कब्जामा रहेको शमशाद टेलिभिजन साँझ सेनाको सहयोगमा मुक्त गरिएको थियो । सो आक्रमणमा एक टेलिभिजन कर्मचारीको मृत्यु भएको बताइएको छ भने २० भन्दा बढी घाइते भएका छन् । तीन जनाको समूहमा आएका आतंकाकारीहरुले स्टेशन नियन्त्रणमा लिएका थिए ।

घटनाको इस्लामिक स्टेट आइएसले जिम्मेवारी लिएको छ । आतंककारीहरुले ग्रिनेड बम प्रहारका साथै अन्धाधुन्ध गोली चलाएको बताइएको छ । शमशाद टेलिभिजनको मुख्यालय रहेको सो स्टेशनमा सय भन्दा बढी कर्मचारी कार्यरत रहेका छन् । शमशाद टेलिभिजन अफगानिस्तानको प्रख्यात टेलिभिजन च्यानल हो । सन् २००६ मा प्रशारण सुरु गरेको सो च्यानलले २४ घन्टा समाचार र मनोरन्जनात्मक सामग्रीहरु प्रसारण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV