२१ कार्तिक २०७४, मंगलवार

चर्चित गायक राजेश पायल राईको सम्मानमा अमेरिकाको रोचेस्टरमा हरके वर्षको नोभेम्बरलाई ‘राई इज किङ डे’ मनाउने घोषणा गरिएको छ । रोचेस्टरमा आयोजित कार्यक्रममा सिटीका मेयर लभ्ली वारेन र डाइरेक्टर डेपुटी मेयर डा केर्डिक एल अलेक्जन्डरले संयुक्त रूपमा सम्मान गर्दै उक्त घोषणा गरेका हुन् ।

गायक राईलाई अमेरिकाको रोचेस्टर सिटी हलमा प्रमाणपत्रसहित सम्मानित गरिएको छ । कार्यक्रममा बोल्दै डेपुटी डेपुटी मेयर डा अलेक्जन्डरले भने, ‘अब रोचेस्टर सिटीमा प्रत्येक वर्ष ‘राई इज किङ डे’ फेस्टिभलको रूपमा मनाइनेछ।’ प्रत्येक वर्षको नोभेम्बर ५ मा गायक राईले गीत गाउने लगायतका नेपाली कार्यक्रम हुने बताइएको छ । कार्यक्रमकाे संयोजन नेपालीले नै गर्ने बताइएको छ ।

उनलार्इ रोचेस्टर सिटीले ‘इन्टरनेशनल पप स्टार’ को उपाधिसमेत प्रदान गरेको छ । अमेरिकी सरकारका तर्फबाट नेपाली कलाकारले पहिलोपल्ट यस्तो सम्मान पाएको कार्यक्रमका संयोजक विजय खड्काले बताए। गाय राईलगायतका कलाकारलाई अमेरिकी प्रहरीले पहिलापल्ट विमानस्थलबाट कार्यक्रम स्थलसम्म सुरक्षा प्रबन्ध मिलाएको पनि उनले बताए ।

सम्मानपछि गायक रार्इले प्रदेशमा आफूले पाएको सम्मानले गायनमा थप केही गर्ने हौसला मिलेको बताए । उनले भने, ‘नेपाली कलाकारलाई अमेरिकामा दिइएको यो सम्मानले म असाध्यै खुशी छु र ‘राई इज किङ डे’ मनाउने घोषणाले झन् उत्साहित छु ।’

नेपाली भाषा, संस्कृति र सङ्गीतलाई विश्वमा प्रचार गरेको र नेपाली सङ्गीतलाई अमेरिकामा प्रस्तुत गरेकोले सम्मान गरिएको आयोजकले बताए । राजेशले केही साता यता अमेरिकाको विभिन्न राज्यमा आयोजित कार्यक्रममा प्रस्तुति दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV