२१ कार्तिक २०७४, मंगलवार

अचेल बेमौसमी फलफूल तथा तरकारीहरू सबैभन्दा छिटो र बढीभन्दा बढी उत्पादन गरी बजारसम्म पु¥याउने एक प्रकारको होडबाजी जस्तो चलेको छ । जसका कारण अत्यधिक मात्रामा हानिकारक कीटनाशक विषादी, रसायनिक मलखादको अत्यधिक प्रयोग, प्रयोगशालामा उत्पादित उन्नत भनिएका हाइब्रिड बीज र तिनबाट उत्पादित खाद्यान्न बजारमा छ्याप्छ्याप्ती भेटिन्छन् ।

कस्ता विषादी प्रयोग हुन्छन् ?
नेपालमा अत्यधिक प्रयोग हुने विषादीमा इन्डोसल्फान, डिक्लोरोवोस, फेनवेलेरेट, साइपरमेथ्रिन, म्यन्कोजेब, डाइफेनाइलामाइन, इथिओन, डीडीटीजस्ता विषादी पर्छन् । काठमाडौँ उपत्यकामा भित्रिएका जाडो र गर्मी यामका गरी करीब तीस प्रकारका फलफूल तथा तरकारीमा गरिएको एक अध्ययनअनुसार ‘डाइक्लोरोभोस’ तथा ‘मिथाएलपाराथिओन’नामक कीटनाशक विषादीको मात्रा औसतभन्दा तीन गुणा ज्यादा पाइएको छ ।

चिन्ने कसरी?
हेर्दैमा आकर्षक, चिल्ला, उज्याला, ठूलठूला, सलक्क परेका फलफूलतथा तरकारीमा विषादी प्रयोग गरिएका हुन सक्छन् । बरु, अलिअलि कीरा लागेका फलफूल तथा तरकारी विषादी रहित हुने सम्भावना ज्यादा हुन्छ ।

हालसालै गरिएको एक अध्ययनअनुसार विषादीको मात्रा तुलनात्मक रूपमा ज्यादा पाइने फलफूल तथा तरकारीमा स्ट्रबेरी, स्याउ, आरु, अंगुर, पैंयु (चेरी), पालुङ्गो, टमाटर, बोडी, सिमी, घण्टे खोर्सानी (क्यापसिकम), काँक्रा, आलु, रातो खोर्सानी आदि रहेका छन् ।

विषादीको मात्रा तुलनात्मक रूपमा कम पाइने फलफूल तथा तरकारी मा घ्यू फल (एवोकाडो), मकै, भुइँ कटहर, बन्दा गोभी, मटरकोसा, प्याज, कुरिलो, आँप, मेवा, किवी, भन्टा (बैगुन), मौसम, लप्सी, काउली, खरबुजा, सुठुनी, तरुल , सुन्तला, अनार आदि रहेका छन् ।

कसरी आउँछ कृत्रिम चमक ?
हिजोआज बजार मौसिमी, हरियो प्याज, कर्कलो, पर्वल, भिन्डी, बोडीजस्ता तरकारीलाई ताजा र हरियो देखाउन हरियो अखाद्द रङ तथा नीलोतुथो (कपर सल्फेट) को झोलमा डुबाउने गरिन्छ । यस्ता कृत्रिम चमक भएका खाद्यान्नको सेवनले धेरै प्रकारका रोग लाग्ने र शरीरको प्रतिरोधात्मक क्षमतामा समेत कमी आउने गर्दछ ।

के हो ‘जीएम फुड’ ?
जेनेटिक इन्जिनिएरिङको मद्दतले प्रयोगशालामा उत्पादित फलफूल, तरकारी तथा अन्नबालीलाई ‘जेनेटिकल्ली मोडिफाइड फुड’ (जीएम फड) भनिन्छ । पछिल्लो समयमा विश्वव्यापी रूपमा यस प्रकारको कृत्रिम प्रक्रियाद्वारा तयार खानाको प्रयोग बढिरहेको छ । कुनै पनि खाद्यान्न बालीको उत्पादकत्व बढाउन, कीट तथा जीवाणु प्रतिरोधी बनाउन तथा प्रतिकूल वातावरणमा पनि हुर्कन सक्ने बनाउनका लागि वैज्ञानिकहरूद्वारा माटोमा पाइने सूक्ष्म जीवाणु (ब्याक्टेरिया) को जीनलाई उक्त बालीको बीजमा अत्याधुनिक पद्धतिद्वारा प्रत्यारोपण गरी यस प्रकारका प्रयोगशालामा उत्पादन गरिन्छ ।

‘जीएम’ प्रविधिद्वारा उत्पादित फलफूल तथा तरकारी हेर्दामा भने आकर्षक, चिल्ला, ठूलठूला, उज्याला रङका हुने गर्दछन् । यस्ता बालीहरू लामो समयसम्म लगाउनाले यसमा भएको हानिकारक तत्वको नकारात्मक प्रभावले माटोको संरचना नै परिवर्तन गरी माटोमा पाइने फाइदाजनक ब्याक्टेरियाजस्ता सूक्ष्म जीवाणुलाई नष्ट गर्दछन् । यस प्रकारका ‘जीएम’ बालीको बीजमा नै ब्याक्टेरियामा पाइने कीटनाशक जीन प्रत्यारोपण गरिएको हुन्छ ।

यस्ता बीजबाट उम्रिएका खाद्यान्नका (जस्तो बिटी कर्न नामक मकै ) प्रत्येक कोषिकामा मानिसका लागि हानिकारक विषादी प्रचुर मात्रामा पाइन्छ जसलाई कुनै पनि प्रक्रियाद्वारा हटाउन सकिँदैन । यस्ता विषादीले एलर्जी, दमरोग तथा क्यान्सरसमेत निम्त्याउन सक्छन् । हानिकारक रसायन र प्लास्टिकको प्रयोग गरी नक्कली दूध, नक्कली अण्डा, नक्कली नुडल्स, नक्कली मासु, नक्कली बन्दा गोभी र नक्कली चामलसमेत तयार गरेको समाचार बेलाबखतमा आउने गर्दछ ।

गर्भवतीको औषधि तरकारीमा
पहिलेपहिले गर्भवती महिलालाई प्रसुति सहज पार्न, रक्तस्राव कम गर्न, दूधको मात्रा बढाउन लगाइने ‘अक्सिटक्सिन’ नामक हर्मोनको सुई आजकाल फलफूल, भन्टा, फर्सी, काँक्रा, लौका, मुला, खरबुजा, मेवा, कटहर, चिचिन्डोजस्ता तरकारी, फलफूललाई ठूलो पार्न, ताजा देखाउन र चाँडो पकाउनका लागि तथा माछा, कुखुरा तथा खसीहरूमा यिनीहरूको आकार वृद्धि गर्नका लागि प्रयोग गर्ने गरेको पाइएको छ । उक्त प्रतिबन्धित ‘अक्सिटक्सिन’ युक्त खाद्य वस्तुहरूको सेवनले शरीरमा हर्मोनको स्तरमा गडबडी आउने तथा स्नायु प्रणालीमा असर गर्ने सम्मका जटिल रोग लाग्ने सम्भावना बढ्छ । यसका अतिरिक्त चामल, गहुँ, मकै, दलहनलगायत अन्नबाली तथा तेल निकाल्न प्रयोग गरिने बालीमा डीडीटी नामक क्यान्सर लगाउन सक्ने प्रतिबन्धित विषादी पाइएको छ ।

कसरी पार्दछ असर ?
ढुसी नियन्त्रणमा प्रयोग गरिने ‘कार्बेनडाजिम’ नामक विषादीको प्रयोग गरिएको फलफूल तथा तरकारीको सेवनले शरीरमा हर्मोनको गडबडी ल्याउँछ । यसै गरी ‘मालाथियोन’, ‘बिफेनथ्रिन’ जस्ता कीटनाशकले मानिसलाई क्यान्सरसम्म लगाउन सक्ने अध्ययनबाट पुष्टि भएको छ । अमेरिकाको कृषि विभागद्वारा चालिसभन्दा बढी प्रकारका फलफूल तथा तरकारीमा गरिएको एक अध्ययनअनुसार विगत पचास वर्षयता विषादी प्रयोगका कारण फलफूल तथा तरकारीमा पाइने शरीरलाई आवश्यक पोषक तत्वहरू जस्तो प्रोटिन, आइरन, क्याल्सियम, फस्फोरस, भिटामिन बी टू, भिटामिन सीको मात्रामा सत्ताइसदेखि तीस प्रतिशतसम्म उल्लेखनीय रूपमा गिरावट आएको पाइएको छ । एफ डी एफ नामक अमेरिकी संस्थाले महिलाहरू माथि हालै गरिएको अनुसन्धानअनुसार गर्भावस्थामा ‘अर्गानोफस्फेट’ नामक विषादीयुक्त फलफूल तथा तरकारीको सेवनले समय अगावै बच्चा जन्मने र उक्त शिशुमा स्नायुसम्बन्धी समस्या देखापर्ने सम्भावना ज्यादा हुने गर्दछ । त्यस्ता महिलाको पिसाबमा ‘ग्लाइफोसेट’ नामक क्यान्सर लगाउन सक्ने हानिकारक विषादीको मात्रा अन्य महिलाको तुलनामा ज्यादा पाइएको छ ।

बच्ने कसरी ?

# सकेसम्म अर्गानिक फलफूल तथा तरकारी मात्र खाने
खोजकर्ताका अनुसार विषादीप्रयोग गरिएका खाद्य वस्तुका तुलनामा अर्गानिक मल प्रयोग गरिएका खाद्यान्नमा करिब पचास प्रतिशत कम मात्रामा ‘क्याडमियम’ नामक क्यान्सर (कारक विषादी धातु पाइएको छ । यस्ता अर्गानिक खानेकुरामा बीसदेखि सत्तरी प्रतिशतसम्म बढी ‘एन्टिअक्सिडेन्ट’ समूहमा पर्ने तत्वहरू पाइन्छन् । जसले क्यान्सर, मुटु, र स्नायुसम्बन्धी रोगहरू लाग्नबाट बचाउनुका साथै चाडै बुढ्यौली लाग्नबाट समेत रोक्ने गर्दछ ।

# घरमा बनाएको अचार र दही खाने
गुन्द्रुक, सिन्की, बाहिरी वस्तुको प्रयोगबिना घरमै बट्टामा हालेर अमिलो पारिएको गाजर, मुला, बन्दाकोपी, आँप, लप्सी, कागती आदिको अचार, दही, मोही, दहीको लस्सी, अमिलो दुधबाट तयार गरिएको पेयजस्ता अमिलो पार्ने ‘फर्मेंटेशन’प्रक्रियाद्वारा तयार गरिएका खाद्य वस्तुमा शरीरलाई फाइदा पु¥याउने किसिमका ब्याक्टेरिया, ढुसी हुने गर्दछन् । जसलाई ‘प्रोबायोटिक’ भनिन्छ । यस्ता वस्तुको सेवनले तिनमा पाइने विभिन्न प्रकारका असल ब्याक्टेरियाहरूले हामीले फलफूल तथा तरकारीमार्फत सेवन गरेको विषादीलाई शोषण तथा विच्छेदन गरी शरीरमा हुने विषादीको असर न्यूनीकरण गर्नमा सघाउ पु¥याउँछन् ।

# फलफूलतथा तरकारीलाई राम्रोसँग सफा पानीले दुईदेखि तीन पटकसम्म पखाल्ने । तर, साबुन वा डिटरजेन्टको प्रयोग गरी पखाल्ने नगरौँ । किनकि, यस्ता सामग्रीमा रहेका हानिकारक रसायन फलफूल तथा तरकारीको बोक्राबाट सजिलै भित्र प्रवेश गर्न सक्छन् ।

# पानीमा थोरै नुन राखी शंकास्पद फलफूल तथा तरकारीलाई केहीबेरसम्म डुबाउने वा मनतातो पानी वा पानीको बाफमा केहीबेर राख्नाले पनि केही विषादी हटेर जाने गर्दछन् ।

# फलफूल र तरकारीको बोक्रा छिलेर फाल्नाले पनि विषादीको मात्रामा केही कमी हुन्छ ।

# सधैँ एकै किसिमको फलफूल तथा तरकारी खाई रहनुभन्दा अलगअलग किसिमको फलफूलतथा तरकारीको सेवनले कुनै एक प्रकारको विषादीको मात्रा वृद्धि हुन सक्ने असर कम गर्न सकिन्छ ।

# माछा, कुखुरा, खसी आदिको छाला तथा बोसोमा विषादीको मात्रा अन्य भागको तुलनामा ज्यादा हुने भएकाले सकेसम्म छाला र बोसो हटाएर मात्र त्यस्ता मासुजन्य वस्तुको सेवन गरौँ ।

# सम्भव भएसम्म आफ्नै करेसाबारीमा वा सामुदायिक करेसाबारीमा निर्माण गरी प्रांगारिक मलको प्रयोग गरी फलफूल तथा तरकारी उत्पादन गरी सेवन गरौँ ।

# फलफूल तथा तरकारीलाई पानीमा दश प्रतिशतसम्म सिरका (भिनेगर) राखी करिब बीस मिनेटसम्म डुबाएर राख्नाले पनि विषादीको असर कम गर्न सकिन्छ ।

# मौसम अनुसारका फलफूलको मात्र सेवन गरौँ बेमौसमी फलफूल तथा तरकारीमा विषादीको मात्रा तुलनात्मक रूपमा ज्यादा हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV