२१ कार्तिक २०७४, मंगलवार

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई आफुहरुले सुरु गरेको वाम एकताको अभियानलाई कम्युनिष्ट अधिनायकवादको हौवा भनेर हल्ला नचलाउन चेतावनी दिएका छन् ।

मंगलबार वाम गठबन्धनको संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गर्दै अध्यक्षद्वय ओली र दाहालले सो चेतावनी दिएका हुन् । उनीहरुले कांग्रेसको यो हल्ला हतास मनस्थितिको परिचायक बाहेक केही नभएको बताएका छन् ।

एमाले र माओवादीको गठबन्धनले आफ्नो स्वर्णयुग समाप्त हुने भयले कांग्रेस तर्सिएको बताउँदै यसअघि एमाले र माओवादी मिलेर सरकार बनाएको समेत स्मरण गर्न कांग्रेस नेताहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विचार मिल्ने पार्टीहरु मिल्नासाथ भयपूर्ण रुपमा चित्रण नगर्न कांग्रेस नेताहरुलाई आग्रह गरे । आफुहरु लोकतन्त्र,लोकतान्त्रिक प्रक्रिया र बहुदलीय प्रतिष्पर्धात्मक राजनीतिक प्रणाली, स्वतन्त्र न्यायलय लगायतका पक्षमा प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष ओली झगडा गरेर लोकतन्त्र बलियो नहुने स्पष्ट पारे ।

पूर्वप्रधानमन्त्री ओलीले भने, “लोकतन्त्र कसैले ल्याइदिएको उपहार होइन, हाम्रै पुस्ताले बलिदान र संघर्ष गरेर आएको हो । त्यसैले लोकतन्त्र हाम्रो निष्ठा मात्र होइन, यो उपलब्धि हो । हामीले जनता जगाएको प्रमाण हो । हामी लोकतन्त्रलाई तलमाथि हुन दिँदैनौँ ।”

उन्ले एमाले र माओवादी मिलेर पहिला पनि सरकार चलाएकाले चुनावी गठबन्धन र पार्टी एकताको घोषणा हुँदा कसैले कोकोहोला र रुवाबासी गर्न नपर्ने बताउँदै भने, “पार्टी मिल्दा लोकतन्त्र खतरामा पर्ने भन्न थालिएको छ, के झगडा गर्दा लोकतन्त्र सुरक्षित हुन्छ ?”

साथै अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि आफुहरुले चुनाव जिते दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई पुनः सक्रिय बनाउने बताए । आफुहरु दुवै छिमेकीहरुसँग सुमधुर सम्बन्ध राख्न तयार रहेको बताउँदै उनले चुनावपछि सार्कलाई तनाव हटाउने र समझ्दारी बढाउने मञ्चका रुपमा सदुपयोग गर्ने स्पष्ट पारे । उनले चुनावपछि वाम गठबन्धनले जिते भारत र चीनसँग समदुरीको सम्बन्ध स्थापित गर्ने बताए ।

भारतमाथि पछिल्ला वर्ष सार्कलाई ओझेल पार्दै विमस्टेकलाई सक्रिय बनाएको आरोप लागिरहेका बेला अध्यक्ष ओलीले सो संकेत दिएका हुन् । भारतले पाकिस्तानको राजधानी इस्लामावादमा हुने भनिएको सार्क शिखर सम्मेलनलाई अस्वीकार गरेपछि सम्पन्न हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV