२० कार्तिक २०७४, सोमबार

नेपाल आर्ट काउन्सिल बबरमहलमा आजबाट प्रिन्टमेकिङ कार्यशाला शुरु भयो । प्रिन्टमेकिङ नेपालको आयोजनामा शुरु भएको सो कार्यशाला १० दिनसम्म सञ्चालन हुनेछ ।

अग्रज कलाकार उर्मिला उपाध्याय गर्गले एक समारोहबीच कार्यशालाको उद्घाटन गर्दै नेपालमा प्रिन्टमेकिङको विकासमा कलाकारले महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।

“पहिला नेपालमा प्रिन्टमेकिङप्रति कलाकार तथा आम मानिसको रुचि कम थियो, अहिले कलाकार तथा पारखीको पनि रुचि यसप्रति बढ्दै गएको छ,” उहाँले भन्नुभयो ।

नेपालमा ६ दशकअघि प्रिन्टमेकिङ शुरु भएको हो । २०१६ सालमा पहिलोपटक उर्मिला उपाध्यायले प्रिन्टमेकिङमा काम गरेको नेपाल प्रिन्टमेकिङ नेपालका अध्यक्ष उमाशंकर साहले बताउनुभयो । “प्रिन्टमेकिङ पनि पेन्टिङ जत्तिकै महत्वपूर्ण छ, पेन्टिङको जस्तै यसको पनि एक्स्प्रेसन भ्यालु रहेको छ,” उहाँले भन्नुभयो ।

इडिसन बढाएर सस्तोमा पेन्टिङको सोखलाई पूरा गर्न प्रिन्टमेकिङको महत्व रहन्छ । एउटा मूल कपीबाट १०० वटासम्म प्रिन्ट निकाल्न सकिन्छ । युरोपतिर प्रिन्टमेकिङको महत्व एकदमै रहेको अग्रज कलाकार वीरेन्द्रप्रताप सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रिन्टमेकिङ स्किलफुल काम हो, यो पेन्टिङभन्दा बढी च्यालेन्जिङ छ ।”

कार्यशालामा विद्यार्थी तथा व्यावसायिक प्रिन्टमेकर गरी ५० जनाको सहभागीता रहेको अध्यक्ष साहले जानकारी दिनुभयो ।

कार्यशालाले एकअर्का कलाकारबीच प्रविधि सिक्ने र ज्ञान आदानप्रदानका लागि महत्वपूर्ण भूमिका खेल्ने सहभागी कलाकार अनिता भट्टराई खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV