२० कार्तिक २०७४, सोमबार

काठमाडौँ । युरोपियन युनियनले राजनीतिक दलका नेताहरुसँग निर्वाचन पर्यवेक्षणका लागि आवश्यक वातावरण निर्माण गर्न आग्रह गरेको छ । आइतबार युनियनका सदस्यहरुले राजनीतिक दलका नेताहरुसँग भेट गर्दै आगमी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पर्यवेक्षण गर्नका वातावरण निर्माण गर्न आग्रह गरेको हो ।

आइतबार बिहान युरोपियन युनियनका निर्वाचन पर्यवेक्षण टोलीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेर निर्वाचन पर्यवेक्षण अनुमति दिन आग्रह गरेको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको भेटमा ऐतिहासिक निर्वाचनमा सहभागी भएर निर्वाचनको निष्पक्षताको बारेमा जानकारी लिन सकिने भन्दै पर्यवेक्षणका लागि आवश्यक वातावरण बनाउन आग्रह गरेका थिए । भेटमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगसँग छलफल गरेर पर्यवेक्षण गर्ने वातावरण निर्माण गरिने विश्वास व्यक्त गर्नुभएको थियो ।

यता सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यलयमा युरोपियन युनियनका सदस्यहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनबारे छलफल गरेका थिए ।

युनियनको टोलीले आसन्न निर्वाचनमा युरोपियन युनियनलाई पर्यबेक्षण गर्ने व्यवस्था मिलाउन समेत अध्यक्ष ओलीलाई आग्रह गरेको एमाले नेता विष्णु रिजालले जानकारी दिनुभयो ।भेटमा युरोपियन युनियनले मतपत्रबारे बाहिर आएका विवादबारे अध्यक्ष ओलीसँग चासो राखेको थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV