२० कार्तिक २०७४, सोमबार

काठमाडौँ । आगामी निर्वाचनमा खटिने कर्मचारीको मतदानका विषयमा सर्वोच्च अदालतले राय दिन एमिकस क्यूरीको सहयोग मागेको छ । न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले एमिकस क्यूरीको माग गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा खटिने करिब ३ लाख कर्मचारीलाई मतदान गर्न दिने विषयमा राय दिन विज्ञहरुको समूह अर्थात एमिकस क्युरी बोलाएको हो । नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनबाट एक–एकजना एमिकस क्युरी माग गर्ने अदालतको आदेश छ ।

निर्वाचनमा खटिएको ठाउँमा कर्मचारीले समानुपातिकतर्फ मतदान गर्न पाउनुपर्ने माग गर्दै महान्यायाधिवक्ताको कार्यालयका भरतकुमार मैनालीले हालेको रिट निवेदनको सुनुवाइपछि अदालतले एमिकस क्युरी माग गरेको हो । यसअघि सर्वोच्च अदालतले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खटिने कर्मचारीलाई समानुपातिकतर्फ मताधिकारको प्रयोग गर्न रोकिएकोमा प्रश्न गर्दै जवाफ दिन निर्वाचन आयोगको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।

सरकार र निर्वाचन आयोगलाई विपक्षी बनाउँदै मैनालीले कात्तिक १३ गते दायर गरेको रिट निवेदनमा न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले लिखित जवाफसहित आइतबार आउन निर्वाचन आयोगको नाममा आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV