१९ कार्तिक २०७४, आईतवार
  • छविलाल बगाले

काठमाडौं ।  नेपाल विद्युत प्राधिरकणले रत्नपार्कस्थित केन्द्रीय कार्यालय परिसरमा विद्युतीय सवारी ‘चार्जिङ स्टेशन’ को निर्माण गरेको छ । प्राधिकरणले टिओडी मिटर राखेर ४० किलोवाट क्षमताको उच्च गतिको चार्जिङ स्टेसन जडान गरेको हो ।

चार्जिङ स्टेशनमा जोडेको २ घन्टामा विद्युतीय सवारी साधन पूर्णरूपमा चार्ज हुने प्राधिकरणका इन्जिनियहरुले बताएका छन् । अहिले केन्द्रीय कार्यालयमा नमूना स्टेशनका रूपमा जडान गरिएको चार्जिङ स्टेसनलाई देशभर विस्तार गर्ने विद्युत व्यापार विभागका प्रमुख प्रवल अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युतीय सवारी साधन निर्माण तथा विक्री गर्ने विश्वका विभिन्न कम्पनीसँग सहकार्य गरेर चार्जिङ स्टेशन राख्नेबारे छलफल भइरहेको छ ।

चार्जिङ स्टेसनमा शुन्य चार्ज भएका कुनैपनि विद्युतीय सवारी २ घन्टामा चार्ज भइसक्ने र केही प्रतिशत मात्रै जार्च भएका गाडी चार्ज हुन ३० देखि ४५ मिनेटको समय लाग्नेछ । विद्युतीय सवारी साधन चार्ज गर्नमात्र नभई विद्युतको माग र आपूर्ति व्यवस्थापन गर्न सबस्टेसन नजिक ५ देखि १० मेगावाटसम्ममा चार्जिङ स्टेशन राख्ने तयारीमा प्राधिकरण रहेको छ ।

प्राधिकरण अन्तर्गतको आयोजना व्यवस्थापन निर्देशनालयले काठमाडौं उपत्यकासहित देशभर चार्जिङ स्टेसन निर्माण गर्ने प्रक्रिया अघि बढाउँदैछ । हाल निर्माणाधीन माथिल्लो तामाकोसी, चिलिमे तथा निजी क्षेत्रका आयोजनाबाट उत्पादन सुरु भएपछि रातको समयमा खेर जाने विद्युतबाट बढी क्षमताका ब्याट्री चार्ज गरेर महत्वपूर्ण स्थानमा अत्याधिक माग भएको समयमा आपूर्ति व्यवस्था मिलाउन चार्जिङ स्टेशन राख्ने प्राधिकरणको योजना छ ।

भारतले लगाएको लामो नाकाबन्दीपछि देशभर पेट्रोलियम पदार्थको अभाव भएपछि प्राधिकरणले देशभर विद्युतीय सवारीको मात्रामा बढाउने नीति लिएको थियो । सो नीति अनुरुप राजधानी लगायत अन्य प्रमुख शहरहरुमा विद्युतीय सवारीको संख्यामा बृद्धि हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV