१९ कार्तिक २०७४, आईतवार

ब्रसेल्स (रासस/सिन्ह्वा) । स्पेनको क्याटालोनियाका अपदस्थ नेता चाल्र्स पुज्दमोनले आफू र अन्य पाँच नेताविरुद्धमा लगाइएको आरोपका बारेमा बेल्जियमकै अदालतबाट सहयोग लिन चाहेको बताउनु भएको छ । 

शनिबार विहान उहाँले ट्विटरमा लेख्नुभएको छ, “पक्राउ गर्नका लागि स्पेनले पत्राचार गरेको अवस्थामा हामी बेल्जियमको अदालतसँग सहयोग लिन तयार रहेका छौँ ।”

उहाँले आफूहरुमाथिका कानुनी विषयमा बेल्जियमको अदालतबाट न्याय लिने तथा अनुसन्धानका लागि आवश्यक मुद्दामा सो अदालतलाई सहयोग गर्ने पनि बताउनुभएको छ ।

स्पेनले उहाँलाई पक्राउ गर्नका लागि पठाएको पत्र बेल्जियमको न्यायाधिवक्ताको कार्यालयले शुक्रबार बेलुका प्राप्त गरेको छ । स्पेनले युरोपेली सङ्घका पाँच ओटा देशबाट उहाँलाई पक्राउ गर्न सकिनेगरी पक्राउ आदेश जारी गरेको छ ।

पुज्दमोन सहित पाँच जनालाई स्पेनले विद्रोह, राज्यद्रोह र सार्वजनिक सम्पत्तिको दुरुपयोग लगायतका आरोप लगाएको छ ।

न्यायाधिवक्ताको कार्यालयले शनिबार वक्तव्य जारीगर्दै न्यायीक निकायले कसरी काम गर्छ भन्ने बारेमा विस्तृतमा जानकारी दिएको छ ।

संविधानको उल्लङ्घन गरी आफ्नो क्षेत्रलाई छुट्टै राज्य बनाउन आन्दोलन गरेको विषयमा सोधपुछ गर्न स्पेनको अदालतले उनीहरुलाई अदालतमा उपस्थित हुन आदेश दिएपनि उपस्थीत नभएपछि पक्राउ आदेश जारी गरिएको हो ।

केन्द्रीय सरकारले बर्खास्त गरेपछि अदालतले बोलाउनु अघि नै उनीहरु गतहप्ता बेल्जियम आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV