१९ कार्तिक २०७४, आईतवार

अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचारको छानबिनमा आक्रामक देखिएको छ । अख्तियारले पूर्व मुख्यसचिव, पूर्व सचिव र बहालवाला दुई सचिवमाथि भ्रष्टाचारमा छानबिनमा थालेको छ।

अख्तियारले पूर्व मुख्य सचिव राजेन्द्र किशोर क्षेत्री, पूर्व सचिव विश्वप्रकाश पण्डित तथा बहालवाला सचिवहरु अर्जुनकुमार कार्की र गजेन्द्र ठाकुरको बयान लिन सुरु गरेको हो।

पूर्व मुख्यसचिव क्षेत्री, सचिव कार्की र पूर्व सचिव विश्वप्रकाश पण्डितलाई विद्युत् प्राधिकरणको ट्रान्सफर्मर खरिदमा भ्रष्टाचार गरेको भन्दै छानबिन अघि बढाएको हो ।

चीन र थाइल्यान्डबाट खरिद गरिएको ट्रान्सफर्मर कम गुणस्तरको भएको र खरिदमा अनियमितता गरेको अभियोग उनीहरुमाथि छ।तत्कालीन समयमा ऊर्जा मन्त्रालयमा रहेका कार्की हाल नेपाल ट्रस्टको कार्यालयमा छन्।

यस्तै, अख्तियारले पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सिंचाइ सचिव गजेन्द्र ठाकुरमाथि पनि छानबिन अघि बढाएको छ । उनीमाथि एनसेलबाट आर्थिक लाभ लिएको अभियोग छ।

यसअघि राष्ट्रिय सर्तकता केन्द्रमा रहेका ठाकुरले एनसेलको लाभकर विवादमा संसदको लेखा समितिमा छलफल हुँदा सो प्रकरण अख्तियारमा नपठाउन लबिङ गरेका थिए ।

सतर्कता केन्द्रले नै छानबिन गर्नुपर्ने दबाव उनले समितिमा दिएका थिए । ०७१ पुस २८ गते उनी सचिवमा बढुवा भएका थिए ।अख्तियारले काठमाडौं महानगरपालिकाका दुई कर्मचारीमाथि पनि अनियमितताको आरोपमा छानबिन अघि बढाएको छ।

महानगरपालिकाका नगर निरीक्षक धनपति सापकोटा र अर्का कर्मचारी राजुनाथ पाण्डेमाथि अनुसन्धान सुरु गरेको हो । सापकोटा र पाण्डेले मापदण्ड विपरीत निर्माण भएका घर भत्काउने महानगरको निर्णयलाई कार्यान्वयन नगरी आर्थिक लाभ लिएको उजुरी अख्तियारमा परेको थियो।

होर्डिङ बोर्ड, सडक पेटी र सडकमा राखिने अन्य विज्ञापनबाट पनि उनीहरुले आर्थिक लाभ लिएको दाबी उजुरीमा गरिएको छ । सो उजुरीमा छानबिन गर्दा पाण्डे र सापकोटाको सम्पति अस्वाभाविक देखिएकाले उनीहरुलाई अकुत सम्पत्ति अन्तर्गत बयान लिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV