१९ कार्तिक २०७४, आईतवार

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले माथिल्लो त्रिसुली थ्री ए  ६० मेगावाटको जलविद्युत आयोजना  तोकिएको समय भन्दा अगावै सम्पन्न गर्न लागिपरेका छन्।

विद्युत प्राधिकरणको ऊर्जा सचिव एवं प्राधिकरणका अध्यक्ष अनुपकुमार उपाध्याय, कार्यकारी निर्देशक कुलमान घिसिङ, ऊर्जा मन्त्रालयका योजना तथा कार्यक्रम महाशाखा प्रमुख प्रवीण अर्याल र उत्पादन निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक हरराज न्यौपाने सहितको टोलीले शनिबार स्थगलत निरीक्षण गरी अर्को वर्षको हिउँदमा विद्युत उत्पादन गर्ने गरी काम गर्न निर्देशन दिएका हुन् ।

आयोजनास्थलमै ठेकेदार कम्पनीहरु, भूकम्प र पहिरो क्षति पुर्याएको बाँध स्थलको दायाँ बायाँ र प्रवेश मार्गको विभिन्न स्थानमा गएको पहिरोको रोकथाम र सडक मर्मतको जिम्मा पाएको नेपाली सेना र परामर्शदाता कम्पनीबीच टोलीले छलफल गरेको थियो ।

तोकिएको समयभन्दा अगाडिनै निर्माण सम्पन्न गर्न आवश्यक सहयोग गर्ने र ठेकेदार कम्पनीहरुले पनि तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता टोलीले जनाएका छन् ।

सचिव उपाध्यायले भने ‘माथिल्लो त्रिसुली थ्री एलाई सरकारले उच्च प्राथमिकता दिएर विशेष निगरानीमा राखेको छ, त्यसैले तोकिएको समयभन्दा अघि नै आयोजनाको निर्माण सकिनु पर्छ’ ,‘निर्माण आउने अवरोध तथा समस्या समाधानका लागि मन्त्रालय र प्राधिकरण सञ्चालक समिति सँधै तयार छ ।’

घिसिङले निर्माणमा थप जनशक्ति परिचालन गर्न र निर्माणको समन्वयका लागि आयोजना, ठेकेदार कम्पनीहरु र परामर्शदाता कम्पनीबीच हरेक हप्ता बैठक बसी समस्या समाधान गर्न निर्देशन दिए ।

घिसिङले आयोजनाको कामलाई तिब्रता दिन अहिले कुनै समस्या नरहेको बताए । ‘चिनियाँ एक्जिम बैकले ऋणको अवधि थप भइसकेको छ,सेनाले पनि काम सुरु गरिसकेको छ’,उनले भने,‘अर्को वर्षको फेब्रुअरीभित्र विद्युत उत्पादन गर्ने गरी काम हुनुपर्छ, त्यस समयमा निर्माण सकिएमा हिउँदको विद्युत माग व्यवस्थापन गर्न भारतबाट विजुली ल्याउनु पर्दैन, जुन मुलुकका लागि ठूलो उपलब्धि हो ।’

 

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV