१९ कार्तिक २०७४, आईतवार

प्रतिनिधिसभा र प्रदेशसभाका लागि तीन वटा मतपेटिका राख्ने निर्वाचन आयोगको तयारी रहेको छ । प्रत्यक्षतर्फ दुई वटा मतपत्र हुनेभएपछि समानुपातिक समेत गरेर तीनवटा मतपेटिका राख्ने निर्वाचन आयोगको तयारी छ । यसअघि दुई वटा मात्र मतपेटिका राख्ने तयारीलाई आयोगले परिवर्तन गरेको हो ।

आगामी निर्वाचनमा मतदाताले तीनवटा मतपत्रबाट चार स्थानमा मतदान गरी तीनवटा फरक–फरक मतपेटिकामा खसाल्नुपर्ने हुन्छ । यस्तो अवस्थामा मतदाता झुक्किन सक्ने सम्भावना रहनेतर्फ आयोगले विशेष ध्यान पु¥याउने जनाएको छ । यसअघि दुइटा मतपत्र र दुइटै मतपेटिकाबाट चुनाव गराउने तयारी भएकामा त्यही अनुसार मतदान केन्द्रको डिजाइन गरिएको थियो । मतपत्र तीनवटा हुने भएपछि केन्द्रको डिजाइन पनि परिवर्तन गरिएको हो ।

मतदान केन्द्र प्रवेशसँगै मतदाताले पहिलो डेस्कमा मतदाता नामावली रुजु गराउनेछन् । मतदाताको नङमा मसी लगाउने काम त्यहीं हुनेछ । मतादाताले त्यही डेक्सबाट प्रत्यक्षतर्फ प्रदेशसभाको मतपत्र पाउनेछन् । पहिलो घेरामा प्रवेश गरी स्वस्तिक चिह्न लगाएर नजिकैको प्रदेशसभाको मतपेटिकामा मत खसालिसकेपछि अर्को डेस्कबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतपत्र पाउनेछन् ।

त्यहाँ पनि फरक गोप्य कक्ष र फरक मतपेटिका प्रयोग हुनेछन् । तेस्रो डेस्कबाट मतदाताले समानुपातिकतर्फको मतपत्र पाउनेछन् । समानुपातिकतर्फ एउटै पानाको मतपत्रमा माथि प्रतिनिधिसभा र तल प्रदेशसभाका लागि निर्वाचन चिह्न हुनेछन् । मतदाताले त्यहाँ दुवै सभाका लागि अलग–अलग स्वस्तिक चिह्न लगाउनुपर्ने हुन्छ । समानुपातिकका लागि पनि प्रदेश र प्रतिनिधिसभाका लागि अलग्गै गोप्य कक्ष र अलग्गै मतपेटिका हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV