१८ कार्तिक २०७४, शनिबार

छविलाल बगाले

आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि लमजुङमा दुई गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने अवस्था देखिएको छ । विगतमा नेपाली काँग्रेस र नेकपा एमालेबीच तीब्र प्रतिष्पर्धा रहेको लमजुङमा यसपट यिनै दुई दलको नेतृत्वमा स्थापित लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने भएको हो ।

मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि लमजुङमा मूख्य दलहरु चुनावी प्रचारमा तल्लीन छन् । जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य एवं निवर्तमान राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्ती चुनावी मैदानमा छन् ।

यस्तै बाम गठबन्धनबाट नेकपा माओबादी केन्द्रका केन्द्रीय कार्यलय सदस्य देवप्रसाद गुरुङ चुनावी मैदानमा रहेका छन् । उता, प्रदेश सभाका लागि कांग्रेसबाट पूर्ब पार्टी सभापति कृष्ण कोइराला र गर्जबहादुर गुरुङ चुनावी मैदानमा छन् भने वाम गठबन्धनबाट एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ र एमाले जिल्ला अध्यक्ष धनञ्जय दवाडी चुनावी प्रतिष्पर्धामा छन् ।

जिल्लामा बाम गठबन्धन नयाँ भने होईन । सम्पन्न स्थानीय तह निर्वाचनमा पनि नेकपा एमाले र नेकपा माओबादी केन्द्र विच चुनावी तालमेल भएको थियो । स्थानीय तह निर्वाचनको नतिजा अनुसार जिल्लाका आठ स्थानीय तह मध्ये प्रमूख पदमा नेपाली काँग्रेस २, नेकपा एमाले ५ र नेकपा माओबादी केन्द्रले १ पद जितेको थियो । यस्तै उपप्रमूख पदमा काँग्रेसले ३, एमालेले ४ र माओवादी केन्द्रले १ पद जितेको थियो । जिल्लाका आठ स्थानीय तहमा ७५ वडा रहेका छन् । स्थानीय तहको निर्वाचन परिणाम अनुसार ३४ वडामा नेपाली काँग्रेसले जितेको छ भने ३६ वडामा नेकपा एमाले र पाँच वडामा नेकपा माओबादी केन्द्रले जित हात पारेको छ ।

स्थानीय तहको मत परिणाम अनुसार सवै स्थानीय तहबाट प्रमूखहरुले पाएको मतलाई आधार मान्दा बाम गठबन्धन एकहजार दुईसय ९६ मतले अघि देखिन्छ । स्थानीय तह निर्वाचनमा बाम गठबन्धनको ३३ हजार छ सय ३३ मत थियो भने नेपाली काँग्रेसले ३२ हजार तीनसय ३७ मत प्राप्त गरेको थियो । लमजुङमा सम्पन्न स्थानीय तह निर्वाचनमा एकलाख पाँचहजार नौसय ९२ मतदाता रहेका थिए भने हाल नौहजार चारसय ५७ मतदाता थपिएर एकलाख १५ हजार चारसय ४९ जना पुगेका छन् ।

LIVE TV