१८ कार्तिक २०७४, शनिबार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँको सात वर्षे विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आइतबार बोलकबोल मार्फत बैंक तथा वित्तिय संस्था, गैर–बैंक वित्तिय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई ऋणपत्र बिक्री गर्न लागेको हो ।

विकास ऋणपत्र किन्न चाहनेले आइतबार दिउँसो दुई बजेसम्म बोलकबोल गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिद गर्न चाहनेले कम्तिमा पचास हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमसम्म पचास हजारले भाग गर्दा निःशेष भाग जाने परिमाणसम्म प्राप्त गर्न सक्नेछन् ।

ऋणपत्रका लागि छुट्याएको २० प्रतिशत अर्थात चार अर्ब रुपैयाँ प्रतिस्पर्धीका लागि र एक अर्ब रुपैयाँ रकम अप्रतिस्पर्धी बोलवालाका लागि छुट्याएको छ । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र साँवा २०८१ साल कात्तिक २० गते भुक्तानी गर्नुपर्नेछ ।

राष्ट्र बैंकले यहि महिनामा तीनवटा विकास ऋणपत्र जारी गरिसकेको छ । बैंकले कात्तिक ५ गते छ अर्बको सात बर्षे विकास ऋणपत्र, १२ गते छ अर्बकै आठ वर्षे ऋणपत्र र १६ गते पाँच अर्बको पाँच वर्षे विकास ऋण पत्र निष्काशन गरेको थियो ।

LIVE TV