१८ कार्तिक २०७४, शनिबार

मनोज श्रीवास्तव

कपिलवस्तुको ऐतिहासिक रामघाटमा मेला भर्न आउने श्रद्धालुहरुको भीड लागेको छ । धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिने बाणगंगा नदीको रामघाटमा मेला भर्न आएका हजारौं भक्तजनहरुले बिहानै रामघाटमा स्नान गरी नजिकैको रामजानकी मन्दिरमा पूजाआजा गर्नेहरुको भीड लागेको हो ।

पूजाआजा गर्नका लागि दर्शनार्थीको बिहान देखि नै घँुइचो लागेको थियो । पूजाआजाका लागि छिमेकी भारतबाट समेत आएको रामघाट मेला ब्यवस्थापन समितिले जनाएको छ । मेला भर्न ५० किमी पर भारतको बासी जिल्लाबाट आएकाहरुको पनि ठूलो भीड लागेको छ । यस्तै सय बढी साधु जोगी पनि मेला भर्न रामघाट आएका थिए ।

मन्दिर बरिपरी र नदी किनारमा रातभर साधु जोगीहरुले जाग्राम बसी भजन, किर्तन र चुड्का भनेर रमाईलो गर्ने चलन रहदै आएको छ । त्रेता युगमा भगबान राम बनबास जाने क्रममा रामघाट आई पुग्दा पानी प्यास लागे पछि बाण हानेर पानी निकालेको धार्मिक जनविश्वास छ । भगवान रामले बाण हानेर पानी निकालेको हुदाँ यस ठाउँको नाम रामघाट रहन गई धार्मिक तीर्थस्थलको रुपमा परिचित बनेको जानकारहरुको भनाई छ ।

मेलाका दिन बिहानै स्नान गरी घाट किनार र रामजानकी मन्दिरमा पुजाआजा गर्नाले मनोकांक्षा पुरा र गरेको पाप काट्ने हुने धार्मिक जनबिश्बास छ । यस्तै नदी किनारमा स्नान गरी गौदान गर्नेहरुको भीड लाग्ने गर्छ । गौदान गर्नाले पुण्य प्राप्ति हुने धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV