१८ कार्तिक २०७४, शनिबार

काठमाडौं । उद्योगी राज्यलक्ष्मी गोल्छा संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा वकालत गर्दै आएको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिक बन्दसूचिमा परेकी छिन् । उनी यसअघि एमालेको कोटामा समानुपातिक सांसद भएकी थिइन् ।

प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिसधिसभातर्फ १०९ जनाको बन्दसूचि बुझाइएको छ । आयोगले शुक्रबार सार्वजनिक गरेको बन्दसूचिमा स्वयम् डा. लोहनीसहित पार्टीका कार्यसमितिमा रहेका कार्यसमिति सदस्यका साथै उद्योगीसमेत रहेका छन् ।

सार्वजनिक सूचिअनुसार डाक्टर लोहनी खस आर्य कोटामा पहिलो नम्बरमा समानुपातिक उम्मेदवार रहेका छन् । दोस्रो संविधानसभा निर्वाचनमा एमालेको समानुपातिक सांसद भएपनि एमालेकै ह्विप उलंघन गर्दै आएकी राज्यलक्ष्मी खस आर्य कोटामा पहिलो नम्बरमा छिन् ।

यस्तै तत्कालिन राप्रपामा हुँदा कमल थापासँग प्रतिस्पर्धा गर्ने प्रदीप विक्रम राणाको समेत नाम समेत रहेको छ । उनी राप्रपाको एकता महाधिवेशनमा अध्यक्षमा कमल थापासँग लडेका भएपनि भारी मतले पराजित भएका थिए ।

यस्तै सातैओटै प्रदेशसभातर्फ एप्रपाले बुझाएको समानुपातिक बन्दसूचि पनि आयोगले सार्वजनिक गरेको छ । आयोगले प्रदेशसभामा १९९ जनाको नाम सार्वजनिक गरेको हो । जसमा प्रदेश नम्बर ३ बाट राप्रपा प्रचारविभाग सचिव जनकाज पाठकको समेत नाम उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV