१८ कार्तिक २०७४, शनिबार

काठमाडौंँ, कात्तिक १८ । युवा पर्यटन व्यवसायी नवराज अमगाईलाई यति बेला दुईवटा कामले भ्याइनभ्याइ छ । एक त पर्यटक आगमनको मौसम, अर्को निर्वाचन । उहाँको गृहजिल्ला गोरखामा निर्वाचनको रौनक उच्च बिन्दुमा पुगेको छ । गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर १ बुङ्कोट निवासी अमगाई वाम गठबन्धनका समर्थक हुनुहुन्छ । उहाँलाई गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सहयोग गर्ने जिम्मेवारी आइलागेको छ ।

ठमेलस्थित हिमालय ग्लासिएर टे«किङ एन्ड ट्राभल्सका सञ्चालकसमेत रहेका अमगाई काँग्रेस र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई धेरैपटक निर्वाचित गरिसकेकाले अब पालो श्रेष्ठको बताउनुहुन्छ ।

त्यस्तै पर्यटन व्यवसायी सागर पाण्डे पनि नयाँ शक्तिका संयोजक डा. भट्टराईलाई सहयोग गर्न लागिपर्नुभएको छ । पूर्वप्रधानमन्त्री डा. भट्टराईको मुख्य सहयोगीका रूपमा रहेका पाण्डे पर्यटकीय सिजनको समयमा व्यवसायमा भन्दा निर्वाचनमा बढी व्यस्त देखिनुभएको छ । उहाँ भन्नुहुन्छ, “गोरखा र बाबुराम एकअर्काका परिपूरकजस्तै हुन्, डा. भट्टराईसँग सपना छ र त्यो सपना पूरा गर्ने क्षमता पनि । ”
यति बेला विभिन्न जिल्लाबाट ठमेल आई व्यवसाय गर्ने विकट, दुर्गम र हिमाली जिल्लाका व्यवसायीलाई चुनावी ज्वरो नै आएको छ । पर्यटकीय नगरी ठमेल क्षेत्रलाई कर्मभूमिका रूपमा प्रयोग गर्दै आएका युवा पर्यटन व्यवसायी अमगाई र पाण्डेजस्ता अधिकांश व्यवसायीलाई व्यवसायसँगै चुनावी चटारोले छोएको छ ।

टिब्बेत ट्राभल्सका सञ्चालक लीलावल्लभ दाहाल ‘काका’ पनि ओखलढुङ्गा प्रदेशसभा १ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्ने चर्चा भए पनि टिकट नपाएपछि युवा नेता रामहरि खतिवडालाई जिताउन लाग्नुभएको छ । राजधानीमा रहेका मतदातालाई जिल्लासम्म पु¥याउने जिम्मेवारी निर्वाह गरिरहेको उहाँ बताउनुहुन्छ ।

नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य एवं टानका पूर्वकोषाध्यक्षसमेत रहेका दाहाल भन्नुहुन्छ, “टिकट नपाए पनि राजनीतिबाट अलग हुन सकिन्न । गृहजिल्ला र राजधानीमा पनि म  सक्रिय हुनैपर्छ । ”

हिमालपारिका जिल्लाहरू मनाङ र मुस्ताङका त धेरैजसो मतदाता नै राजधानीमा हुन्छन् । ती जिल्लासँगै गोरखा, धादिङ र नुवाकोट जिल्लाको चुनावी प्रचारप्रसार तथा आर्थिक सहयोग जुटाउने अभियान पनि पर्यकीय नगरी ठमेलबाट हुने गरेको छ । ती जिल्लाका उम्मेदवारहरूको निर्वाचन सम्पर्क कार्यालय नै ठमेलका विभिन्न होटलमा छन् ।

त्यस्तै मनाङ र मुस्ताङ जिल्लाका अधिकांश मतदाताको बासस्थान र व्यवसाय ठमेल, क्षेत्रपाटी र स्वयम्भू क्षेत्रमा भएकाले त्यहाँका उम्मेदवारका प्रतिनिधिहरूले काठमाडौँमा नै घरदैलो अभियान सञ्चालन गरिरहेका छन् ।

नेपाली काँग्रेस मनाङका उम्मेदवार पूर्वमन्त्री टेकबहादुर गुरुङलाई जिताउन उहाँका छोरा अमर गुरुङ पनि राजधानीमा रहेका मतदाताबीच सक्रिय हुनुुहुन्छ । उहाँ वाम गठबन्धनको सहयोगमा रहनुभएका स्वतन्त्र उम्मेदवार दीपक मनाङ्गेसँंग प्रतिस्पर्धामा हुनुहुन्छ ।
मनाङका दुवै उम्मेदवारले काठमाडौँ र पोखरामा रहेका मतदातालाई हेलिकोप्टर तथा निजी गाडीबाट जिल्लासम्म पु¥याउने तयारी गरेको पर्यटन व्यवसायी राजेश गुरुङले बताउनुभयो ।

त्यस्तै स्वतन्त्र उम्मेदवार मनाङ्गेको निर्वाचन सम्पर्क कार्यालय पनि ठमेलकै एक होटललाई बनाइएको छ । काठमाडौँबाट मनाङ र मुस्ताङका मतदातालाई मतदानस्थलसम्म लैजान काठमाडौँ–पोखरा बस सेवा र पोखरा–मनाङ, तनहुँ बन्दीपुर–बेसीसहर, मुस्ताङ हेलिकोप्टर तथा कारको व्यवस्था गरिएको जनाइएको छ । मनाङ र मुस्ताङ जिल्लाका उम्मेदवारहरूका लागि हेलिकोप्टर र गाडी बुकिङ खर्चिलो भए पनि वर्षौंदेखि यस्तै चलन रहँदै आएको जानकारहरू बताउँछन् । गोरखापत्र बाट

प्रतिक्रिया दिनुहोस्
LIVE TV